काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी डुब्न नदिने बताएका छन् । शनिबार नेपाल आयल निगमको ५० औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भट्टले निजी क्षेत्रको अबौं लगानी डुब्न नदिने बताएका हुन् ।
उद्योगी तथा व्यवसायीले लगानी डुब्ने अवस्थामा आइपरेकाले त्यसबाट पार लगाइदिन आग्रह गरे । उद्योगीको जवाफमा मन्त्री भट्टले भने, ‘नेपाली उद्योगी व्यवसायीहरूले पेट्रोल तथा खाना पकाउने एलपी ग्यास उत्पादन प्लान्टमा अर्बाैं लगानी गरेका छन् । त्यो लगानीलाई जोखिम हुन दिँदैनौं ।’
उनले सन् १९६२ मा भएको चीन–भारत युद्धमा भारत कमजोर देखिनुको मुख्य कारण पेट्रोलियम वस्तु भएको मन्त्री भट्टको तर्क छ । चीन–भारत सिमानामा भारतीय पक्षले पेट्रोल पुर्याउन नसक्दा युद्धमा भारत कमजोर बनेको दाबी मन्त्री भट्टले गरे ।

तत्काल जलविद्युतले पेट्रोलियम पदार्थको स्थान लिन नसक्ने उनले बताए । उनले भने, ‘पेट्रोलियम पदार्थको प्रयोग विद्युत्ले विस्थापन गर्न सक्दैन् । अमेरिकाजस्तो विकसित देशले पनि पेट्रोलियम पदार्थ नै मुख्य इन्धनको रूपमा प्रयोग गर्दै आएको छ ।’
कार्यक्रममा आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमले विगत लामो समयसम्म आरोह–अवरोह पार गर्दै यस अवस्थामा आइपुगेको बताए । विगत लामो समय घाटामा रहेको संस्था अहिले नाफामा गएको बताउँदै पौडेलले आर्थिक वर्ष २०७५/७६ मा सरकारलाई ६५ अर्ब ६० करोड रूपैयाँ राजश्व उपलब्ध गराएको उनको भनाई छ ।

एलपी ग्यास एसोसियसन नेपालका अध्यक्ष गोकुल भण्डारीले सरकारले व्यवसायीले लगानी गरेको अर्बौ लगानी डुबाउन लागेको बताए । उनले भएका ग्यास उद्योग ५० प्रतिशत घाटामा चलिरहेको भन्दै निगमले स्थापना गर्न लागेको ग्यास प्लान्टमा आपत्ति जनाए । ‘सरकारले विद्युत खपत बढाउन भन्दै ग्यास नचलाउन भन्दै आएको छ । तर, विद्युतमार्फत सबै काम चलाउने भए उद्योगीको लगानी खोलामा जाने छ’ उनले भने ।
त्यस्तै कर्मचारी युनियनले भने कर्मचारीले लिदै आएको बोनस पाउनुपर्ने माग गरेका थिए ।