काठमाडौं । नेपाल गुणस्तर परिषद्को १०२ औं बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ । यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो । तर, शुक्रबार बसेको परिषद्को बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले नेपाल गुणस्तरलाई परिमार्जन सहित स्वीकृत गरेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको बताए ।

योसँगै अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न पाउने भएका छन् । ‘सरकारले छुट्टै मापदण्ड बनाएको छ, त्यो पूरा गर्ने उद्योगीले ४३ र ५३ ग्रेड लेख्न पाउँछन्,’ पुडासैनीले क्यापिटल नेपालसँग भने, ‘३३ ग्रेडका लागि अहिले पूरानै मापदण्ड राखिएको छ ।’
त्यसैगरी शुक्रबार बसेको गुणस्तर परिषद् बैठकले ‘ब्रिक्स’को पनि मापदण्ड बनाएको छ ।
सरकारले पहिलो पटक ब्रिक्सको मापदण्ड स्वीकृत गरेको हो । ‘यसअघिसम्म ब्रिक्सको मापदण्ड बनेको थिएन,’ उनले भने, ‘सरकारले पहिलो पटक ब्रिक्सको मापदण्ड बनाएको र उद्योगीले सरकारी मापदण्ड पु¥याएर नेपाल गुणस्तर (एनएस) समेत लिन सक्नेछन् ।’
उद्योगीले पटक–पटक सिमेन्टको बोरामा ग्रेड लेख्न पाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले उनीहरुको मागलाई सम्बोधन गर्न पहिलो पटक सिमेन्टको बोरामा ग्रेड लेख्ने वातावरण बनाइदिएको छ ।

सिमेन्टमा हुनुपर्ने आइआरको मात्रा र एमजीओको मात्रा पूरानै राखिएको पुडासैनीले जानकारी दिए । त्यसैगरी, सरकारले ३३ ग्रेडको सिमेन्टलाई अर्को बर्षबाट एनएसबाट हटाइएन ।