हेटौडा । नेपाल गुणस्तर तथा नापतौल विभागले आफ्नै स्वामित्वमा ‘क्यालिब्रेसन टावर’ बनाएर सञ्चालनमा ल्याएको छ । विभागले हेटौडामा क्यालिब्रेसन टावर बनाएको हो । आज ७ ओटा ट्याङ्करको परीक्षण समेत भएको छ ।
अहिलेसम्म विभागले नेपाल आयल निगमका डिपोभित्र क्यालिब्रेसन गर्दै आएको थियो । पहिलो पटक आफ्नै क्यालिब्रेसनबाट ट्याङ्कर परीक्षण गर्ने भएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
उनका अनुसार आगामी साउन १५ देखि दैनिक १५ ओटा ट्याङ्कर परीक्षण गर्न सकिने छ । स्वतन्त्र रुपमा ट्यांकरको परीक्षण गर्नुपर्ने भएकाले क्यालिब्रेसनको लागि पूर्वाधार निर्माण गरिएको उनको भनाइ छ ।
ट्याङ्करले बोक्ने इन्धनको परिमाण ठिक छ, छैन नाप्ने प्रविधि क्यालिब्रेसन हो । यसमा राज्यको मानक नापतौलसँग दाँजेर इन्धनको नापतौल ठिक भए नभएको हेरिन्छ ।
विभागको आफ्नै टावर नहुँदा प्रभावकारी रुपमा अनुगमन हुन नसकेको गुनासो बढेपछि विभाग आफैले क्यालिब्रेसन टावर निर्माण गरेको पुडासैनीले बताए ।
अहिले मुलुकभर करिब १९ सय ट्याङ्करले इन्धन बोक्छन् । हरेक वर्ष क्यालिब्रेसन गर्नुपर्ने भए पनि आवश्यक पूर्वाधार अभावका कारण त्यो सम्भव थिएन । तर, अब दैनिक १५ ओटा ट्याङ्कर परीक्षण गर्न सक्छ । बर्षभरी ५ हजार भन्दा बढी ट्याङ्कर परीक्षण गर्न सकिने विभागले जनाएको छ । जबकी अहिले करिब १९ सय ओटा ट्याङ्कर मात्रै छन् । पुडासैनीका अनुसार हप्तामा तीन दिन मात्रै परीक्षण गर्छाै ।
हेटौंडामा निर्माण गरिएको क्यालिब्रेसन टावरमा दुई हजार लिटरका दुइटा, एक हजार लिटरको एउटा, पाँच सय लिटरको एउटा ट्याङ्की रहेको छ । अब आधुनिक प्रविधि प्रयोग गरेर ट्यांकरको परिणाम चेकजाँच हुन्छ ।
नेपालमा गुड्ने अधिकांश क्लालिब्रेसन नगरी पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ । यही कारणले तेल चुहावट भएको निगम र पम्प सञ्चालकले विवाद गर्दै आएका छन् । अब क्रस भेरिफिकेसन गर्न सजिलो हुने भएको छ । गलत काम गरेको फेला परे तत्काल कारबाही गर्न सकिने विभागले जनाएको छ ।
निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद हुँदै आएको छ । निगमले भारतमा गरेको क्यालिब्रेसनलाई मान्यता दिनुपर्ने बताउँदै आएको छ भने व्यवसायीले नेपालभित्र नापतौल तथा गुणस्तर विभागले नै क्यालिब्रेसन गर्नुपर्ने माग राख्दै आएका थिए ।
इन्डियन आयल कर्पोरेसनबाट इन्धन ढुवानी गर्ने ट्यांकरले भारतमा गर्ने क्यालिब्रेसन कागजीमात्र हुने गरेको बताउँदै आएका थिए । ‘अब हामीलाई शंका लागेमा पनि क्यालिब्रेसन गरौं भन्न सक्छौं,’ पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘यसले सही मापन गर्ने भएकाले सबैलाई फाइदा पुग्छ ।’
इन्धन ट्यांकरको क्यालिब्रेसन गर्नुका साथै फ्लो मिटर पनि परीक्षण हुन्छ । इन्धन बोक्ने ट्यांकरको हरेक वर्ष क्यालिब्रेसन गर्नुुपर्ने भए पनि यहाँका ट्यांकरले यो नियम पालना गरेका छैनन् ।
निजी ट्यांकरमा तेल लोड गरी लैजाँदा नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले मापन गरी प्रमाणपत्र दिएको क्यालिब्रेसन चार्टबमोजिम तेल भरेर सम्बन्धित बिक्रेताको प्रतिनिधिले चेकजाँच गरेर बुझ्छन । स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार व्यावसायिक रुपमा सञ्चालन भएका सबै नापतौललाई क्यालिब्रेसन गनुपर्छ ।