काठमाडौं। पछिल्लो समय साना कमर्सियल भेहिकल सेग्मेन्टमा इलेक्ट्रिक माइक्रोभ्यानको प्रतिस्पर्धा बढेको छ। नेपालमा अधिकांश निजी प्रयोजनका लागि मात्रै ईभी आयात हुँदै आए पनि अहिले यात्रुवाहक सेग्मेन्टमा पनि आयात बढिरहेको छ।
नेपालमा इलेक्ट्रिक भ्यानको जग दिगोले बसाए पनि अहिले थुप्रै ब्रान्डका भ्यान उपलब्ध छन्। केवाइसी भ्यान पहिलेदेखि नै उपलब्ध ब्रान्ड हो भने सोकोन गत नाडा अटो शोबाट इन्ट्री भएको हो।
नेपालमा केवाइसी भ्यान सिजी मोटर्सले बिक्री गर्दै आएको छ भने सोकोन भ्यान एमएडब्लु वृद्धि मोटोकर्पले बेच्दै आएको छ। केवाइसी भ्यानजस्तै मूल्य, साइज र स्पेक रहेको सोकोनमा मुख्य फरक चार्जिङ पोर्ट रहेको छ। केवाइसी र अन्य कम्पनीका भ्यानमा जिबीटी चार्जिङ पोर्ट छ।
तर, सोकोनमा युरोपियन स्ट्यान्डर्डको सिसीएस २ चार्जिङ पोर्ट रहेको छ। यसको मतलब पर्सनल कारका लागि खडा गरिएका चार्जिङ स्टेसनमा यो माइक्रोभ्यान चार्ज गर्न सकिन्छ। यी दुवै ११ सिटे क्षमताका भ्यान हुन्। यी दुई भ्यानको मूल्य र फिचर सामान छ।
मोटर तथा ब्याट्री पावर
सोकोन ईसी ३६ मा ४२ किलोवाट आवरको सीएटीएलको लिथिएम आइरन फस्फेट ब्याट्री प्याक छ। यसमा ६० किलोवाटको मोटर जडान गरिएको छ। यसले २०० एनएमको टर्क जेनेरेट गर्दछ। यसको टप स्पिड १०० किलोमिटर प्र्रतिघन्टा रहेको छ।
केवाइसी भी ५ मा ४१.८६ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिइएको छ। यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ। यसले ३८० एनएमको टर्क जेनेरेट गर्दछ। यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको छ।
चार्जिङ समय
सोकोन ईसी ३६ ले एसी र डिसी दुवै चार्जर सपोर्ट गर्दछ। यसलाई एसी चार्जर प्रयोग गरी चार्ज गर्दा ७ देखि ८ घन्टामा फुल चार्ज हुनेछ। डिसी चार्जर प्रयोग गरी १ घन्टामा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ।
केवाइसी भी ५ ले ६.६ किलोवाटको एसी चार्जर प्रयोग गरि चार्ज गर्दा ८ घण्टामा फुल चार्ज हुनेछ। डिसी फास्ट चार्जर प्रयोग गरि १ घन्टा २५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ।
रेन्ज
यी दुई भ्यानको रेन्ज भने समान रहेको छ। सोकोनमा भएको ४२ किलोवाटको ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ भने केवाइसीमा भएको ४१.८६ किलोवाटको ब्याट्रीले पनि ३०० किलोमिटर रेन्ज दिन्छ।
ग्राउन्ड क्लियरेन्स
केवाइसी भ्यानको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ भने सोकोन भ्यानको ग्राउन्ड क्लियरेन्स १८८ एमएम छ। केवाइसी भ्या भन्दा सोकोन भ्यानको ग्राउन्ड क्लियरेन्स ८ एमएम बढी छ।
साइज
सोकोनको लम्बाइ ४५०० एमएम, चौडाइ १६८० एमएम र उचाइ २०० एमएम रहेको छ। यसको ह्वीलबेस ३०५० एमएम छ। केवाइसी भ्यानको लम्बाइ ४४९५ एमएम, चौडाइ १६८० एमएम र उचाइ १९९० एमएम छ। यसको ह्वीलबेस २९३० एमएम छ।
क्याबिन फिचर
केवाइसी भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ। एबीएस सहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, ड्युल एयरब्याग, १५ इन्चको अलोय ह्वीलजस्ता फिचर छन्। यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ पर्छ।
सोकोन भ्यानमा ब्याट्री इन्डिकेटर, सिट बेल्ट रिमाइन्डर, डोर ओपन रिमाइन्डर, टायर प्रेसर अलार्म र ठूलो टच इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ। यसमा रियर पार्किङ क्यामेरा, फ्रन्ट र रियर पार्किङ सेन्सर, एयर कन्डिसन, रियर एसी भेन्टजस्ता फिचर छन्। कम्पनीले यो भ्यानको मूल्य ४५ लाख ५० हजार तोकेको छ।