काठमाडौं। अटो मोबाइल क्षेत्रमा देखिएका विद्यमान समस्याहरूको समाधान र यस क्षेत्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले अर्थ मन्त्रालयसँग छलफल गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी अटो मोबाइल व्यवसायको प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत छलफल गरेको हो।
छलफलमा अध्यक्ष उप्रेतीले पछिल्लो समय शिथिल बनेको अटो मोबाइल बजारलाई चलायमान बनाउन तत्काल केही नीतिगत तथा कानुनी सुधारहरू आवश्यक रहेको बताए।
उनले अटो मोबाइल क्षेत्रलाई प्रोत्साहन गर्न सके यसबाट सरकारको राजस्व संकलनमा वृद्धि हुनुका साथै रोजगारीका अवसरहरू समेत सिर्जना हुने धारणा राखे। साथै, उनले नेपालमै उत्पादन हुने अटो मोबाइल सामग्रीहरूको गुणस्तर मापन गर्ने पर्याप्त संयन्त्र नहुँदा व्यवसायीले भोग्नुपरेको कठिनाइबारे जानकारी गराए।
सोही क्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले सवारी कर्जाको ‘लोन ट भ्यालु रेसियो’ बढाउनुपर्ने बताए। उनले यो अनुपात पुनरावलोकन गर्दा सवारी साधनको बिक्री बढ्ने र त्यसले अन्ततः समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने तर्क व्यक्त गरे।
यस्तै, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटो मोबाइललाई अझै पनि विलासिताको वस्तुको सूचीमा राख्नु तर्कसंगत नभएको उल्लेख गर्दै यसको वर्गीकरणमा पुनरावलोकन गर्न आग्रह गरे। उनले भारतमा जीएसटी दर घट्दा सिमानामा चोरी निकासी बढेको तथ्यतर्फ ध्यानाकर्षण गराउँदै भन्सार दर समायोजन गर्न र अटो मोबाइल उद्योगलाई सरकारले उच्च प्राथमिकतामा राख्न माग गरे।
छलफलमा महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतीय सवारी साधनको ‘पिक पावर’ मापनसम्बन्धी प्राविधिक विषयमा सरकारसँग सहकार्य गर्न नाडा तयार रहेको बताए।