काठमाडौं। सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अंकले घटेर २६८९.०० बिन्दुमा रोकिएको छ।
पछिल्लो पटक बढी मात्रामा २७०० बिन्दुमा बसिरहेको नेप्से आठ कारोबार दिनपछि २६०० बिन्दुमा खुम्चिएको हो। यसअघि आठ कारोबार दिन अघि अर्थात् मंसिर १० मा नेप्से २६८३.२४ बिन्दुमा थियो।
मंसिर १० अगाडिको दुई कारोबार दिन २६०० बिन्दुमा रहेको नेप्से त्यसअघिका आठ कारोबार दिनमा पनि २७०० बिन्दुमै कायम भइरहेको थियो।
आइतबार नेप्से ४५ अंकले घटेसँगै २६८९ बिन्दुमा सीमित हुन पुगेको हो। यसो त, अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १५.९३ अंकले घटेको थियो भने बुधबार २४.९७ अंकको संकुचन आएको थियो।
आइतबार सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा कुल ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बिहीबार भने ८ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये २७ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार खाँनीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दा अन्य कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुन सकेन।
यस्तै, मानुषि लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र जोशी हाइड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। १३ वटै उपसमूह नकरात्मक रहँदा जीवन बिमा समूहमा सर्वाधिक अर्थात् ३.०७ प्रतिशतको गिरावट आएको छ।