काठमाडौं । लेमिनेटेड बोरालाई कार्यान्वयनमा ल्याउने प्रक्रिया सुरु गरेसँगै सरकारले त्यसको मापदण्ड पनि बनाउन गृहकार्य गरेको छ ।
सरकारले उद्योगीलाई अनिवार्य रुपमा लेमिनेटेड बोरा कार्यान्वयन ल्याउन निर्देशन दिएसँगै त्यसको गुणस्तर पनि निर्धारण गर्न लागिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले लेमिनेटेड बोराको नेपाल गुणस्तर बनाउन प्राविधिक समिति समेत बनाइसकेको छ । सम्बद्ध व्यवसायीको सहभागितामा सरकारले प्राविधिक समिति बनाएर काम सुरु गरिसकेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको नेतृत्वमा प्राविधिक समिति बनिसकेको छ । सो समितिमा निजी क्षेत्रका प्रतिनिधि पनि छन् । समितिले शुक्रबार छलफलका लागि बैठक पनि राखेको छ ।
सरकारले सम्पूर्ण उद्योगीलाई अनिवार्य रुपमा लेमिनेटड बोरामा सिमेन्ट उत्पादन गर्न निर्देशन दिइसकेको छ । तर, अहिलेसम्म लेमिनेटेड बोराको नेपाल स्ट्यान्डर्ड भने थिएन ।
जगदम्बा सेन्थेटिकले नेपालमा थोरै परिमाणमा लेमिनेटेड बोरा बनाइरहेको थियो । तर, कुन स्ट्यान्डर्डको हुनुपर्ने भन्ने केही थिएन । अब सरकारले निश्चित मापदण्ड नै तोक्ने गरी गृहकार्य सुरु गरेको विभागले जनाएको छ ।
सम्पूर्ण उद्योगीले लेमिनेटेड बोरा प्रयोग गर्दा बार्षिक ५ अर्ब रुपैयाँ बराबरको बोरा खपत हुन्छ । बार्षिक अर्बौ रुपैयाँ कारोबार हुने बोराको गुणस्तर अहिलेसम्म थिएन ।
लेमिनेटेड बोरा कार्यान्वयन नगर्ने उद्योगलाई १५ दिने स्पष्टिकरण, चित्तबुझ्दो जवाफ नआए इजाजत खारेज
नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुब थापाले नेपालमा बार्षिक २० करोड बोरा आवश्यक हुने बताए । ‘अहिले बार्षिक सरदर २० करोड बोरा आवश्यक हुन्छ,’ उनले भने ।
अहिलेसम्म कुनै पनि उद्योगले लेमिनेटेड बोरामा सिमेन्ट उत्पादन गरेका छैनन् । सामान्य बोराको तुलनामा लेमिनेटेड बोरा १० रुपैयाँ महँगो हुने व्यवसायीले बताएका छन् । अहिले सिमेन्ट प्याक भएर आएको बोराको मूल्य १५ रुपैयाँ पर्छ । लेमिनेटेड बोराको मूल्य २५ रुपैयाँसम्म पर्ने उद्योगीले अनुमान लगाएका छन् ।
एकातिर अहिलेको बोराको तुलनामा लेमिनेटेड महँगो हुने र गुणस्तर पनि नभए पछि सरकार यस विषयमा गम्भीर भएर लागेको हो । सामान्य बोरा भन्दा केही रुपैयाँ मात्रै महँगो भए पनि लेमिनेटेड बोराले उपभोक्ताले गुणस्तरीय सिमेन्ट पाउने वातावरण बन्छ ।