काठमाडौं। एउटा सानो टिनको छाप्रो। बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छिन्- शान्ति थापा मगर। काठमाडौंको रैथाने परिवारमा जन्मिएकी उनी थर बदलेर थापा मगर बनेसँगै दुःखका दिनमा भासिइन्। जिन्दगी दाैडाउन शान्तिले बेहाेरेकाे कष्ट शब्दमा व्यक्त गर्न सकिँदैन। माइतीबाट तिरस्कृत हुँदा पाएकाे दुःखलाई शान्तिले जिन्दगीकाे पाठ सम्झिइन् र साेहीअनुरूप अगाडि बढिन्।
रामेछापका विक्रम थापासँग भागिविवाह गरेकी शान्तिलाई त्यसपछि माइती जाने बाटो बन्द भयो। अनि, आफैंले खाेस्रिन थालिन्, जिन्दगीको गोरेटो। भोगिन् अनेक उल्झन र कठिनाइ। मानसिक घाउ, अपमान सहेरै शान्तिले आफूलाई सम्हालिन्।
विवाहसँगै नयाँ जिन्दगी सुरु गरेकी शान्तिलाई श्रीमानले साथ दिए। त्यसपछि उनले सानाे लगानीमै भए पनि व्यापार सुरु गरिन्। सुरुका दिनमा उनले नाङ्लो पसलबाट व्यवसाय थालिन्। थोरै सामान राखेर व्यापार सुरु गरेकी उनले चिया बेच्न थालेकाे पनि २० वर्ष बितिसक्याे।
पाटन क्याम्पसअगाडि शान्तिको सानो छाप्रोमा चिया खान पुग्छ, ठूलो जमात। शान्तिले मेड चियाले ग्राहक खुबै खुसी हुने गर्छन्। गफिन्छन्।ग्राहकले रूचाइदिँदा चिया व्यापारमा झनै हाैसला मिलेकाे सुनाउँछिन्, शान्ति। दिनको सुरुवातसँगै पसल पुग्ने उनी साँझसम्म आफ्नै व्यापारमा रमाउँछिन्। सुरुवाती दिनमा आफ्नो जीवन धान्न ज्यालादारी काम गरेकी शान्तिले चियापसल थालेको दुई दशक पूरा भएको छ। चियाको व्यापारसँगै गतिलाे आम्दानी बटुल्दै गइन्। छोराछोरी हुर्काइन्। पढाइन्। पारिवारिक बिँडाे थामिन्।
शान्ति जतिबेला पनि चिया बेच्न व्यस्त हुन्छिन्। बिहान ४ बजे पसल पुगिसक्छिन्। बेलुका अबेरसम्म पसलमै व्यस्त हुन्छिन्। दिनभरि सानो पसलबाट राम्रो व्यापार गर्छिन्। आफ्नो कामबाट सन्तुष्ट भएको बताउँदै उनले भनिन्, ‘बच्चाहरू हुर्काएँ, अहिले उनीहरू आफैं कमाउन सक्ने भएका छन्। योभन्दा ठूलो अरू के हुन सक्छ?’
उनले बोली वचनबाट ग्राहकको मन जितेकी छन्। त्योभन्दा बढी आफूले बनाएकी चियाको चुस्कीमा ग्राहकलाई लोभ्याउन सफल भएकी छन्। उनले दैनिक ५ सय कपभन्दा बढी चिया व्यापार गर्दै आएको बताइन्। चियासँगै खाजा पनि बेच्दै आएकी छन्।
नांग्लाे पसलबाट सुरु उनको व्यावसायिक जीवनमा धेरै कठिनका मोड आए। गए। कुनै बेला घरबेटीलाई भाडा दिन नसक्दा पसलमा नराखुँझैं लाग्ने उनी अहिले भने सन्तुष्ट छन्। आफ्नो परिवारलाई राम्रोसँग राख्न सकेकी छन्। व्यवसायबाट दैनिक जीवन चलेकाे बताउँछिन्।
कोरोना महामारी फैलिँदा पसल बन्द गर्न बाध्य भइन्। व्यापार पूरै बन्द हुन पुग्यो। व्यापार बन्द भएर चिन्तित बनेकी शान्तिलाई कहिले नमेटिने गरी पीडा थपियो- सदाका लागि बुहारी गुमाइन।
बुहारीले छाडेर गएकी नातिलाई मातृत्वको माया दिइन्। उनको काँधमा अर्को जिम्मेवारी थपियो। नातिको आमा बन्नु पर्यो। अहिले उनलाई नातिले अर्को खुसी दिएका छन्। कोरोना कालमा भोगेकी पीडालाई भुलाएकी छन्।
पसलमा एक्लै काम गर्दै आएकी शान्तिलाई पछिल्लो समय श्रीमानको साथ पाएकी छन्। श्रीमानको हौसलामा आफ्नै व्यापार थालेकी उनले दुवै जना पसलमा काम गरेर खुसी मिलेको बताउँछिन्।
शान्तिले आफ्नो जीवन धेरै दुःख पाइन्। विवाह गरेको तीन दशकसम्म माइती जान पाइनन्। अन्तर जातीय विवाह भएकाले घरपरिवारमा पनि रुचाइनन्। तर, आफ्नो संघर्ष जारी राखिन्। कामलाई निरन्तरता दिइन्। त्यसैले आज उनी खुसी छन्, परिवारको सहारा बनेकी छन्।चिया बेचेर ठूलो रकम जम्मा गर्न नसके पनि परिवारलाई खुसी बनाउने सपना पूरा गरेकी छन्, शान्तिले। यसमै रमाउन चाहन्छिन् उनी।