काठमाडौं। आजदेखि सुरु भएको दोस्रो संस्करणको वाडा अटो शो २०२६ मा सुजुकीको ई भिटारादेखि जेक्को जे ६टी, भिन्टेज कार र रोबोटसम्म प्रर्दशनीमा देखिन्छन्। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाड)ले दोस्रो पटक पोखरामा आयोजना गरेको वाडा अटो शो २०२६ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले उद्घाटन गरेका हुन्।
उपत्यका बाहिर नेपालको पर्यटकीय राजधानी पोखरामा आजदेखि सुरु भएको सवारी साधन र आधुनिक प्रविधिको बृहत मेला ‘दोस्रो नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२६’ चैत १५ गतेसम्म संचालन हुनेछ।
अटो शोमा विशेष गरी सुजुकीको बहुप्रतीक्षित ‘ई-भिटारा’देखि जेक्कोको ‘जे-६टी’सम्मका नयाँ मोडलहरू अफरसहित प्रदर्शनमा राखिएको छ। नेपाली बजारमा वर्षाैंदेखि बलियो उपस्थिति जनाएको सुजुकीले आफ्नो पहिलो विद्युतीय एसयुभी ई-भिटारालाई यस मेलाको मुख्य आकर्षण बनाएको छ।
यसैगरी, जेक्कोको ‘जे–६टी’ पनि दर्शकको ध्यान खिच्ने अर्को प्रमुख मोडलका रूपमा प्रस्तुत गरिएको छ। बलियो बनावट, अफ रोड क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स र स्मार्ट टेक्नोलोजीका कारण अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेको यो गाडी नेपाली उपभोक्ताका लागि नयाँ अनुभव बन्ने अपेक्षा गरिएको छ।
अटो शोमा दुई पांग्रे, चार पांग्रे सवारीका साथै स्पेयर पाट्र्स, एसेसोरिज र अटोसम्बन्धी सेवाहरू पनि प्रदर्शन गरिएको छ। अटो शोमा विभिन्न कम्पनीहरूले विशेष छुट, एक्सचेञ्ज अफर र सहुलियतपूर्ण फाइनान्स सुविधासमेत उपलब्ध गराएका छन्। जसले गर्दा सवारी खरिद गर्ने योजना बनाइरहेका ग्राहकका लागि यो उपयुक्त अवसर बन्ने छ।
वाडा अटो शोमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ देखि भिन्टेज गाडीहरू एकै थलोमा अवलोकन गर्न पाइने छ।
गण्डकी प्रदेश कै ठूलो प्रदर्शन मानिएको वाडा अटो शोमा यस पटक पर्यटकलाई पनि फोकस गरी लेकसाइडमा आयोजना गरेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाड)का महासचिव विनय थापाले बताए।
‘विगतमा अमरसिंह चौरमा आयोजना गरिएको भए पनि यस पटक आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले लेकसाइडको फेवाताल किनारमा कार्यक्रम गरिएको छ,’ उनले भने, ‘जहाँबाट तालको मनोरम दृश्य देख्न सकिन्छ। यसले आन्तरिक पर्यटनलाई फोकस हुन्छ। चैते दशैं र बिदाको समय परेकाले पोखरा घुम्न आउने पर्यटकहरूले पनि अटो शोको अवलोकन गर्ने अपेक्षा गरिएको छ।’ यस पटकको वाडा अटो शो अटो पारखीका लागि मात्र नभइ पर्यटकको लागि पनि फोकस गरिएको उनको भनाइ छ।
उनका अनुसार दोस्रो संस्करणको वाडा अटो शोमा चैते दशैं र बिदाको समय भएकाले आन्तरिक पर्यटकको ठूलो उपस्थिति रहने अपेक्षा छ। जसका कारण यसपटक पर्यटकहरूको सहजताका लागि मेलाको समय बढाएर बेलुका ७ः३० बजेसम्म खुल्ला रहने व्यवस्था मिलाइएको छ।
‘ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीहरूले विशेष छुट र सुविधाहरू उपलब्ध गराएका छन्। विगतका तुलनामा यस पटक छुट पनि बढी दिएका छन्। पोखरा वाडा अटो शोले नेपालका अटोप्रेमी तथा सर्वसाधारणलाई नयाँ प्रविधि र आधुनिक सवारीसँग प्रत्यक्ष साक्षात्कार गराउने महत्वपूर्ण प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको छ,’ उनले भने।
पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै विभिन्न ब्रान्डहरूले आफ्ना नयाँ ईभी मोडलहरू सार्वजनिक गरी बुकिङ खुलाएका छन्। वाडा अटो शोमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ देखि भिन्टेज गाडीहरू एकै थलोमा अवलोकन गर्न पाइने छ।
महासचिव थापाका अनुसार वाडामा भिन्टेज गाडी प्रदर्शनको उद्देश्य अटोमोबाइलको इतिहास र वर्तमान प्रविधिबीचको सम्बन्ध देखाउनु हो। विगतदेखि वर्तमानसम्म सवारी साधनको विकासक्रम बुझाउने र भावी पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ प्रदर्शनीमा भिन्टेज कार राखिएको हो।
वाडा अटो शोमा राखिएको पुराना गाडीहरू अटो शोको विशेष आकर्षण हुन्। साथै, रोबोटिक्सहरू पनि प्रदर्शशन र अटोमोबाइल क्षेत्रमा भएका अत्याधुनिक प्रविधि विकास एवम् नव प्रवर्तनसँग आम सर्वसाधारणलाई साक्षात्कार गराउने तयारीले प्रदर्शनीलाई थप रोचक र आकर्षक बनाएको छ। शोमा युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू प्रर्दशनमा राखिएका छन्।
प्रदर्शनीमार्फत सवारी साधन खरिद बिक्री प्रवर्द्धन गर्नुका साथै अटो व्यवसायको विस्तार, क्षेत्रीय बजार सुदृढीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा नयाँ प्रविधि तथा नवप्रवर्तनबारे जानकारी गराउने उद्देश्यले विशेष ‘भिन्टेज कार शो’ र रोबोट प्रदर्शन समेत गरिएको आयोजकको भनाइ छ।
वाडा अटो शोमा १६ वटा ब्राण्डका चार पांग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका दुई पांग्रे, एउटा हेभी कमर्सियल ब्रान्डले सहभागिता जनाएका छन्। यस अटो शोले बजारमा उपलब्ध अत्याधुनिक प्रविधियुक्त सवारी साधनबारे जानकारी दिने मात्र नभई उपभोक्तालाई नयाँ विकल्प छनोट गर्न सहज बनाउने आयोजकको अपेक्षा छ।
पछिल्लो समय इन्धन मूल्य वृद्धिसँगै विद्युतीय सवारीप्रति आकर्षण बढिरहेको अवस्थामा यस्तो अटो शोले उपभोक्तालाई दीर्घकालीन र किफायती विकल्पतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ। साथै, अटो उद्योगको वर्तमान अवस्था, प्रविधिगत विकास र भविष्यका सम्भावनाबारे पनि जानकारी लिन सकिने आयोजकले जनाएको छ।