काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने काम एक हप्तापछि सुरु गर्ने जनाएको छ । सडक विभागले ‘रोड कटिङ’ ंको स्वीकृती दिएसँगै राजधानीका मुख्य केन्द्र रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्द्रलाई भूमिगत (अन्डरग्राउन्ड) को काम अघि बढाइने प्राधिकरणले जनाएको छ ।
सडक विभागबाट सैद्धान्तिक सहमति पाएको र सडक डिभिजनबाट पनि स्वीकृती लिएर कम्तीमा एक हप्तापछि काम सुरु गर्ने प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । ‘होरोइजनल ड्रिलिङ’ प्रविधिबाट प्वाल पारेर सडक खनिने हुँदा सवै सडक नभत्कने उनले जानकारी दिए ।
तार भुमिगत गर्दा भत्किने सडक १० दिनभित्र कालोपत्रे गरिने तथा धुँलो नउड्ने गरी सडक भत्काइने उनको भनाई छ । दुवै केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्न भारतको केइआइ कम्पनीले ठेक्का पाएको छ । दुइ खण्डमा मात्रै सडक प्वाल पारेर भित्रभित्रै खन्ने उनले बताए ।
दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार ग्राहकले विद्युत भुमिगत लाइन मार्फत सेवा दिने उनले जानाकारी दिए । नेपालमा विद्युत वितरण प्रणालीलाई पहिलो पटक अण्डरग्राउन्ड गर्न लागिएको हो । यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई अण्डरग्राउण्ड गर्दै लैजाने तयारी विद्युत प्राधिकरणको छ ।
अन्डरग्राउन्ड गर्न आवश्यक सबैजसो उपकरण तथा मेसिनहरु आयात भइसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनको क्षेत्र पनि हो । यो सँगै विद्युत् वितरण प्रणाली मात्र नभएर विभिन्न सेवाप्रदायक तथा कम्युनिकेसनका तारहरु एउटै पाइपबाट अन्डरग्राउन्ड हुनेछ ।
विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले ऋण सहयोग गरेको छ । यस्तै विद्युत प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई बर्ष अर्थात २०७८ मंसिरसम्म अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । अरु केन्द्रमा पनि अन्डरग्राउन्ड गर्नका लागि बोलपत्र आह्वान भई मुल्यांकन भइरहेको छ ।