काठमाडौं । ठुलो परिमाणमा खरिदबिक्रीका लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेड बुधबार दर्ता भएको छ । नागरिक लगानी कोष, राष्ट्रिय पुर्नबीमा कम्पनी लिमिटेड र नेपाल टेलिकमको संयुक्त लगानीमा नागरिक स्टक डिलर कम्पनी दर्ता भएको हो ।
दर्ता भएकाले नागरिकलाई सञ्चालनमा आउन बाटो खुलेको छ । कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ छ । टेलिकमको हालै बसेको सञ्चालक समितिको बैठकले स्टक डिलरको संस्थापक सेयरधनी बन्ने निर्णय गरेपछि कम्पनी दर्ता भएको हो ।
टेलिकमले कम्पनीमा ४५ करोड रुपैयाँ लगानी गर्ने छ । पुर्नबीमाले ५० करोड रुपैयाँ सेयर लगानी गर्ने छ । ५ अर्ब रुपैयाँ चुक्तापुँजी हुने कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ कोषको लगानी हुने छ ।
संस्थापक सेयरधनीबाट बाँस्केट फण्ड बनाएर सेयर बजारमा लगानी गर्ने छ । स्टक डिलर कम्पनीले लगानी कोषको पोर्टफोलियो समेत व्यवस्थापन गर्ने छ । लगानी कोषले ९ अर्ब रुपैयाँ सेयर बजार र १ अर्ब रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ। कोषसंग १० अर्ब रुर्पैयाँको लगानी पोर्टफोलियो छ ।
सेयर बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस, माग र आपूर्तिको सन्तुलन स्टल डिलरले कायम गर्ने छ । ठुलो परिमाणमा सेयर खरिद बिक्रीका लागि नेपालमा पहिलो पटक स्टक डिलर सञ्चालन हुने भएको हो ।
कोषका अनुसार स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिनेछ । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।
पहिले लगानी कोषले मात्र छुट्टै सहायक कम्पनी स्थापना गरेर सेक्युरिटिज डिलरसिप तथा बजार निर्माताको काम गर्ने तयारी गरिरहेको थियो । तर कोषमा सञ्चित रहेको रकमले बजारमा पर्याप्त लगानी थप गर्न नसक्ने भएपछि अन्य निकायहरूसँग पनि समन्वय गरेर डिलरसिपको काम गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
