काठमाडौं। विद्युतीय सवारीसाधन(ईभी)को लागि २०८१ निकै सुखद रह्यो। केहि वर्षदेखि सुस्ताएको अटो बजारलाई विद्युतीय गाडीले चलामायन मात्र बनाएन धेरैलाई गाडीको सपना समेत पुरा गरिदियो।
विगतका वर्षहरुमा ४–५ वटा मात्र नयाँ ब्रान्ड आउने नेपाली बजारमा २०८१ मा भने दर्जन बढी ब्रान्डहरु नेपाली बजारमा भित्रिएका छन्। विगत वर्षको तुलनामा २०८१ मा नेपालको अटोमोबाइल बजारमा उछाल नै ल्यायो।
२०८१ मा नीजि तथा कमर्सियल दुवै सेग्मेन्टमा विद्युतीय (ईभी) सवारीसाधनका नयाँ ब्रान्डले मात्र नेपाली बजारमा प्रवेश गरे। यस वर्षको सुरुवातमै केही मुख्य ब्रान्डका ईभी गाडी लन्च हुने तयारीमा छन्। यो क्रमले यस वर्ष पनि निरन्तरता पाउने देखिन्छ। भित्रिने तयारीमा रहेका अधिकांश गाडी पनि विद्युतीय नै छन्।
गत वर्ष गाडीको आयातदेखि बिक्रीसम्मको तथ्यांकले बजारमा सकारात्मक रौनक ल्याएको छ। यस वर्ष पनि ईभी गाडीको प्रवेशले निरन्तरता पाउने व्यवसयीहरु बताउँछन्।
अहिले जुन हिसाबले मानिसहरु ईभीप्रति आकर्षण भएका छन्। नयाँ ब्रान्ड भित्र्याउन प्रतिस्पर्धा चलेको छ। अबको तीन चार वर्षसम्म यो ट्रेन्ड र ईभीको बिक्री एकदम राम्रो हुने दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझी बताउँछन्। ‘अहिले मानिसहरु जुन हिसाबले ईभी प्रति आकर्षण भएका छन्।
नयाँ ब्रान्ड भित्र्याउन प्रतिस्पर्धा चलेको छ। अबको तीन वर्षसम्म यसको बिक्री एकदम राम्रो हुन्छ। कमर्सियल र प्राइभेट दुवैमा मानिसहरु ईभी तिर नै जान थालेका छन्,’ अध्यक्ष रायमाझी भन्छन्, ‘अहिले जति पनि ब्रान्डहरु आयात भएका छन् ती ब्रान्डहरु आफैमा रेगुलेट हुन्छन्। जुन चल्छ त्यो बस्छ कमजोर ब्रान्डहरु बजारबाट विस्थापित हुन्छन्।’
एमजी वीन्डसर
२०८२ को सुरुवाती समयमा नै एमजीले भारतमा उत्पादन गरेको कम्प्याक्ट युटिलिटी भेहिकल (सियूभी) सेग्मेन्टको विन्डसर ईभी नेपाली बजारमा भित्रिने छ। नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अब केही दिनमा नै वीन्डसर ईभी नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
एमजी वीन्डसरमा ३८ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ। जसले १३६ पीएस पावर तथा २०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ।
एआरएआईकाअनुसार वीन्डसर ईभीले ३३२ किलोमिटरसम्मको रेन्ज दिन्छ। विन्डसरको लम्बाई ४२९५ एमएम, चौडाई १८५० एमएम र उचाई १६७७ एमएम रहेको छ। यसको ह्विलवेस २७०० एमएम छ।
एमजीका वीन्डसर एरोग्लाइड डिजाइन ल्याङ्वेजमा बनेको छ। यो ईभीमा युजरको सुविधाका लागि ड्यासबोर्डमा १५.६ इन्चको सेन्टर टचस्क्रीन तथा १३५ डिग्रीसम्म रिक्लाइन हुने सिट रहेको छ।
यसमा ८.८ इन्च डिजिटल ड्राइभर्स डिस्प्ले र प्यानोरमिक ग्लास रुफ छ। ३६० डिग्री क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टम छ। भारतीय बजारमा विन्डसरको सुरुवाती मूल्य ९ लाख ९९ हजार भारु तोकिएको छ।
बिवाईडी सिलायन ७
बिवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सिलायन ७ गत नाडा अटो शो २०२४ मा सोकेस गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा निकै चर्चा कमाएको सिलायन ७ छिट्टै नेपाली बजारमा बिक्रीको लागि आउने कम्पनीले जनाएको छ।
सिलायन ७ दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ। सिलायन ७ प्रिमियम र पर्फमेन्स दुई भेरियन्टमा आएको हो। यसमा ८२.५६ किलोवाट आवर ब्याट्री छ। प्रिमियमले ५६७ र पर्फमेन्सले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
प्रिमियम भेरियन्टमा २३० किलोवाटको मोटर जडानर गरिएको छ। जसले ३८० एनएम टर्क जेनेरेट गर्दछ। पर्फमेन्स भेरिन्टले ३९० पीएस पावर ६९० एनएम टर्क जेनेरेट गर्छ। प्रिमियम भेरियन्ट रियर ह्वील ड्राइभमा छ भने पर्फमेन्स भेरियन्ट अलह्वील ड्राइभमा उपलब्ध छ। गाडीले ४.५ सेकेन्डमै जिरोबाट १०० किमीको स्पिडमा कुद्न सक्छ।
सिलायन ७ मा १९ इन्च अलवे ह्वी रहेको छ। १५.६ इन्चको टच स्क्रिन रहेको छ। त्यसबाहेक नाप्पा लेदर सिटस्, एम्बियन्ट लाइटिङ, प्यानारोमिक ग्लास रुफ रहेका छन्। गाडीको ह्वील बेस २९३० एमएम रहेको छ। बुट स्पेस ५०० लिटर रहेको छ।
दिपल एस–०५
नेपालका लागि दिपल गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले २०८२ को सुरुमा नै एस–०५ ल्याउने जनाएको छ। दिपल एस–०५ दिपल एस–०७ जस्तै, चांगनको इपीएवान प्लेटफर्ममा निर्मित छ। जुन उनीहरुको विशेष नयाँ ऊर्जा सवारीसाधनको लागि डिजाइन गरिएको हो।
दिपल एस–०५ मा ५६.१२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसमा १७५ किलोवाटको मोटर जडान गरिएको छ। जसले ३२० एनएम टर्क उत्पादन गर्न सक्छ। सीएलटीसीकाअनुसार दिपल एस–०५ मा प्रयोग गरिएको ब्याट्रीले ५१० किलोमिटर रेन्ज दिनेछ। एस–०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ। यसको ह्वीलवेस पनि २८८० एमएम लामो छ।
हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस–०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ। इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन्।
एस–०५ मा स्टील र आल्मुनियमको बडी, ६ वटा एयरब्याग, हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्क्रिन पाउन सकिन्छ।
दिपल एस–०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बीयन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस पाउन सकिन्छ।
महेन्द्रा बिई–६
भारतीय बजारमा निकै चर्चामा रहेको महेन्द्रा बीई–६ नेपाली बजारमा भित्रिने तयारीमा छ। नेपालका लागि महेन्द्रा गाडीको आधिकारिक वितरक अग्नी इनकर्पाेरेट प्रालीले महेन्द्रा बीई–६ अर्काे महिना बिक्रीको लागि ल्याउने जनाएको छ।
महेन्द्रा बीई–६ दुई ब्याट्री अप्सनमा उपलब्ध छ। जसमा ५९ र ७९ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री अप्सन पाउन सकिन्छ। यसमा रहेको ५९ किलोवाट आवरको ब्याट्रीसँग १७० किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीले लङ रेन्ज भेरियन्टमा ७९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ।
यसमा २१० किलोवाटको मोटर जडान गरिएको छ। दुवै भेरियन्टको टर्क समान ३८० एनएम छ।यसको लङ रेन्ज रेन्ज भेरियन्टले ५५० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
महिन्द्रा बीई–६ को लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ। यसमा २७७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ। बीई–६ को ग्राउन्ड क्लियरेन्स २०७ एमएम छ।
महिन्द्रा बीई–६ ले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्दछ। यसमा प्रयोग भएको लिथियम आइरन फस्फोट ब्याट्री बीवाइडीको ब्लेड टेक्नोलोजीमा आधारित छ। महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ र २० इन्चको ह्वील अप्सन दिएको छ।
यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ। १२.३ इन्चका ड्यूल स्क्रिनको कम्बिनेसन उत्कृष्ट छ। यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एप समावेश छन्। बीई–६ मा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ।
कम्पनीले ड्राइभिङ मोडको नाम रेन्ज, एभ्री डे र रेस दिएको छ।
क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ। फ्ल्याटवटम स्टेरिङ ह्वील, मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ।
हर्मन कार्डनको १६ स्पिकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, मल्टिकलर एम्बियन्ट लाइट, ५जी कनेक्टिभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्यागजस्ता फिचरले यसलाई अब्बल एसयूभी बनाएको छ।
सुजुकी ई भिटारा
मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई भिटारा गएको जनवरीमा भएको ‘भारत मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक गरेको थियो। उक्त अटो एक्स्पोमा सुजुकीले ई–भिटारालाई शोकेसको रुपमा राखेको थियो। भारतमा औपचारिक लन्च गरिए लगत्तै ई–भिटारा नेपाली बजारमा समेत उपलब्ध हुनेछ।
नेपालका लागि मारुती सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले भारतीय बजारमा लन्च भए लगतै ई–भिटारा नेपाली बजारमा ल्याउने जनाएको छ। ई–भिटारा ४९ किलोवाटआवर र ६१ किलोवाटआवर गरी दुई ब्याट्री अप्सनमा आउनेछ। यसले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ई–भिटारामा सिंगल–मोटर टु–ह्विल ड्राइभ कन्फिगरेसन र ७० किलोवाट डिसी फास्ट चार्जिङ सपोर्ट गर्दछ।
सुजुकीको नयाँ ईभी टेक्नोलोजी र विशेषताले भरिपूर्ण ई–भिटारामा अगाडि र पछाडि नै ट्राइस्ल्यास डिजाइनको एलइडी डीआरएल दिएको छ।
चार्जिङ पोर्ट भने फ्रन्टमा उपलब्ध रहेको छ। ई–भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, पानारोमिक सनरुफ, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, पावर ड्राइभर सिट, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्।