पर्सा। वीरगन्ज नाका हुँदै चालू आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ। ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख राजस्व संकलन गरेको छ।
गत आवको सोही अवधिमा ४३ करोड एक लाख मूल्य पर्ने १६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ। ती सवारी साधनको आयातबाट कार्यालयले ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ। चालू आवको सात महिनामा ८० करोड ५७ लाखका मूल्यका हजार १२८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ। जबकि गत आवको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो।
चालू आवको सात महिनामा एक अर्ब १६ करोड १३ लाखका ६०९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ। ती सवारी साधनको आयातबाट कार्यालयले दुई अर्ब ८६ करोड राजस्व संकलन गरेको छ।
जबकि गत आवको सात महिनामा एक अर्ब ५० करोड मूल्यका ७४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो। सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट रु तीन अर्ब ७३ करोड राजस्व संकलन भएको थियो।
कार्यालयले चालू आवको सात महिनामा २३ अर्ब ५७ करोड मूल्यका सवारी साधन तथा पार्टपुर्जा भित्रिएका छन्। गत आवको सात महिनामा १७ अर्ब १५ करोड मूल्यका सवारी साधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड राजस्व संकलन भएको थियो।