काठमाडौं। वैदेशिक रोजगार विभागले वर्ष २०८१ वैशाखदेखि चैतसम्म सात लाख ९४ हजार ८४५ जना रोजगारीका लागि बिदेसिएको तथ्यांक सार्वजनिक गरेको छ।
विभागका अनुसार अघिल्लो वर्ष यस्तो संख्या सात लाख ११ हजार ४२३ थियो। यो वर्ष ८३ हजार ४२२ जना बढी रोजगारीका लागि बिदेसिएका हुन्।
सबैभन्दा धेरै चैतमा ७३ हजार ४०३ जना र सबैभन्दा कम असोजमा ५३ हजार ५२५ जना बिदेसिएका छन्। जेठमा ७२ हजार ८७१ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५८ हजार ७३६ जना, साउनमा ५९ हजार ५७५ जना काम खोजीमा बिदेसिएका छन्।
यस्तै, भदौमा ५७ हजार ४९३, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ६८ हजार ९६३, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएका छन्।
वर्ष २०८१ मा नेपालीका लागि पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) भएको छ। गत वर्ष मात्रै युएई रोजगारीका लागि करिब दुई लाख नेपालीले श्रम स्वीकृति लिएको विभागका निर्देशक टीकाराम ढकालले बताए।
यस्तै, दोस्रो र तेस्रो श्रम गन्तव्यमा साउदी र कतार परेका छन्। विभागका अनुसार यस वर्ष असोजबाहेक अन्य महिना रोजगारीमा जानेको संख्या ५५ हजार नाघेको छ।