काठमाडौं। नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको आठौँ वार्षिक साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एनवाईईएफलाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर र अपनत्व महसुस गर्ने साझा मञ्चका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।
उनले एनवाईईएफले आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्रामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै संस्थालाई नेपालको युवा उद्यमशीलताको भविष्य निर्माण गर्ने अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार उद्यमशीलता व्यवसाय सञ्चालनको माध्यम मात्र नभई रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन, सामाजिक समस्या समाधान तथा दीर्घकालीन आर्थिक समृद्धिको आधार हो।
हालका व्यवसायिक चुनौतीहरूको चर्चा गर्दै श्रेष्ठले कठिन परिस्थितिमा पनि नेपाली उद्यमीहरूले देखाएको धैर्यता र दृढताको प्रशंसा गरे। आर्थिक संक्रमणका बेला नयाँ सोच, नवप्रवर्तन र दूरदर्शी नेतृत्वको आवश्यकता अझ बढी हुने उल्लेख गर्दै उनले युवा उद्यमीहरूलाई परिवर्तनका संवाहक र नेतृत्वदायी भूमिकामा अघि बढ्न आह्वान गरे। साथै, एनवाईईएफ काठमाडौंलाई ज्ञान आदान प्रदान, मार्गदर्शन, जिम्मेवार व्यवसायिक नेतृत्व तथा राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने संस्थाका रूपमा विकास गर्ने योजना पनि प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नवप्रवर्तन, रोजगारी सिर्जना र निजी क्षेत्रको विस्तारमार्फत नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवा उद्यमीमैत्री वातावरण निर्माणका लागि नीति निर्माता र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे।
विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले युवा उद्यमीहरू नेपालको आर्थिक भविष्यका प्रमुख आधार भएको उल्लेख गरे। उनले एनवाईईएफजस्ता संस्थाले उद्यमशील सोच, स्टार्टअप इकोसिस्टम, नवप्रवर्तन र व्यवसायिक नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको भन्दै महासंघले सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
साधारण सभामा उद्यमशीलता विकास, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष- अनुभव श्रेष्ठ
निवर्तमान अध्यक्ष- अप्पा शेर्पा
प्रथम उपाध्यक्ष- सन्दीप शर्मा
द्वितीय उपाध्यक्ष- सौरभ श्रेष्ठ
सदस्यहरू- सायन प्रजापति, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन, जिम्मेवार व्यवसायिक नेतृत्व विकास तथा देशभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्ने दिशामा सक्रियतापूर्वक काम गर्ने जनाएको छ।