काठमाडौं। सांघाई अटो शो २०२५ सुरु भएको छ। बुधबारबाट चीनको सांघाइमा उक्त अटो शो सुरु भएको हो।
आजदेखि सुरु भएको सांघाइ अटो शो मे २ सम्म सञ्चालन हुनेछ। सांघाइमा १० दिनसम्म चल्ने अटो शोमा विभिन्न २६ देशका करिब १ हजार कम्पनीहरूले सहभागीता जनाएका छन्।
उक्त शोमा चिनियाँ ब्राण्डहरु बीवाइडी, फायर फ्लाई, हुवावे, चांगन, डोङफेङ, ओमोडा÷जेको, जीकर, जिली, डेन्जा, याङवाङ, एक्सपेङ, एलआई अटो, लिपमोटरलगायत दर्जनौं चिनियाँ स्टार्टअप कम्पनीले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन्।
त्यस्तै, जापानी ब्राण्ड टोयोटा, निसान, माज्दा, होण्डा, युरोपियन ब्राण्ड फक्सवागेन,रेनो,बीएमडब्लू, मर्सिडिज, बेन्टले, पोश्र्चे, आइकार, स्मार्ट, अभतार, जेटोरलगायतका ब्राण्डले पनि नयाँ मोडल देखाएका छन्।
त्यसैगरी, नियो, अन्भो, शाओमी, हुवावे, फ्याङ चेङ बाओ, बीएमडब्लू, ग्रेटवाल मोटर, लोटसलगायत लग्जरी ब्राण्डले नयाँ मोडल सार्वजनिक गरेका छन्। सांघाई अटो शोमा प्रदर्शन गरिएका केही नयाँ मोडल नेपालमा समेत आउने छन्।
अटो शोमा देखाइएका जेकोले जे फाइभ, ली मोटरले बी १०, नामीले ०६, एमजीले साइबर एक्स, दीपल एस ०९, शाओमी एस यू ७, भीडब्लू आइडी ३ लगायत मोडल नेपाल आउने छन्।
उक्त शोमा जिओमोटर (साओमी अटो) जस्ता नयाँ ऊर्जा वाहन (एनईभी) ब्राण्डहरूले पहिलो पटक आफ्नो उपस्थिति जनाएका हुन्। सोनी, इन्टेल, ३एमलगायत लगभग ५० अन्तर्राष्ट्रिय कम्पनीहरूले पहिलो पटक सांघाइ अटो शोमा प्रदर्शनी गरेका छन्।
विदेशी ठूला अटो कम्पनीहरूका लागि २०२५ को सांघाइ अटो शो चीनको बजारप्रति उनीहरूको प्रतिबद्धताको प्रमुख प्रदर्शन हो। अन्तर्राष्ट्रिय बुद्धिमान वाहन इन्जिनियरिङ संघका महासचिव झांग जियाङले विश्वको सबैभन्दा ठूलो अटो बजारको रुपमा चीन प्रमुख शक्तिको रुपमा रहेको बताएका छन्।
उनले अमेरिकी कार निर्माता टेस्लाको चीनमा सफलतालाई उदाहरणको रूपमा उल्लेख गरे। टेस्लाले फेब्रुअरीमा सांघाइमा आफ्नो नयाँ मेगाफ्याक्ट्रीमा उत्पादन सुरु गरेको थियो। निर्माण सुरु भएको मात्र ८ महिनामै यसले परिचालन सुरु गरेकोले यो चीनमा टेस्लाको गतिको नयाँ उदाहरण बनेको छ।
चीन अटोमोबाइल निर्माता संघकाअनुसार २०२४ मा चीनको गाडी उत्पादन र बिक्री दुबै ३१ लाख युनिट भन्दा बढी थियो। जसमा निर्यात ५८.५९ लाख युनिट पुगेको थियो।
जुन १९.३ प्रतिशतको वार्षिक वृद्धि हो। यसले चीनलाई विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ताको रूपमा स्थापित गरेको छ। संघले २०२५ मा मोटर उद्योगमा स्थिर वृद्धिको अनुमान गरेको छ। जसमा बिक्री लगभग ३२.९ लाख युनिट पुग्ने अनुमान गरेको छ भने वार्षिक वृद्धि दर ४.७ प्रतिशत बढ्ने अनुमान गरेको छ।