काठमाडौं। पछिल्लो समय चार पांग्रे विद्युतीय सवारीसाधन (ईभी) को आयात घटे पनि दुई पांग्रेको आयात भने उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म ईभीको अवधिमा चार पांग्रे ईभीको आयातमा गिरावट आए पनि दुईपांग्रे स्कुटर र बाइकको आयात उल्लेख्य रूपमा बढेको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना (साउन–फागुन) सम्म १० हजार ६२१ युनिट कार, जिप, भ्यान आयात भएको छ। गत वर्षको तुलनामा समग्र सवारीसाधनको आयात ६।८१ प्रतिशतले वृद्धि भए पनि ईभीको आयात भने ९।७४ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको अवधिमा विद्युतीय र पेट्रोल गरी ९ हजार ६०७ युनिट कार आयात भएको थियो। चालु आवमा १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सवारीसाधन आयात भएको छ। यसबाट सरकारले १७ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
पेट्रोल कार आयातमा वृद्धि
चालु आर्थिक वर्ष आठ महिनाको अवधिमा ईभीका आयात घट्दा पेट्रोल कारको आयातमा उछाल आएको छ। गत वर्षको तुलनामा यस वर्ष पेट्रोल कारको आयात ५३.४५ प्रतिशतले बढेको छ। चालु आवको साउनदेखि फागुनसम्मको अवधिमा ३ हजार ८६४ युनिट पेट्रोल कार आयात भएको छ। गत वर्षको सोही अवधिमा भने २ हजार ५१८ युनिट पेट्रोल कार आयात भएको थियो। गत वर्षको तुलनामा यस वर्ष बजारमा आइस कारको माग बढेको छ।
८ महिनाको अवधिमा ३ हजार ८६४ युनिट पेट्रोल कार आयात हुँदा १ हजार ७९४ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ। हाल नेपालमा हुन्डाईले मात्रै चार पांग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार सोही कम्पनीको हो। हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ।
ईभी आयात घट्यो
चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको अवधिमा समग्र कार आयात बढ्दा विद्युतीय कार आयातमा भने ९।७४ प्रतिशतको गिरावट आएको छ। चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ बराबरको ६ हजार ३९८ युनिट ईभी आयात भएको छ। उक्त आयातबाट सरकारले ९ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा भने १६ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ बराबरको ७ हजार ८९ युनिट विद्युतीय सवारीसाधन आयात भएको थियो। उक्त आयातबाट सरकारले १० अर्ब २२ करोड ४३ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
चालु आवमा ५० किलोवाटसम्मका २ हजार १९८ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ६७२, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ५१९ र २०१ किलोवाट माटिथका ७ युनिट ईभी भित्रिएका छन्। त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ।
बाइक तथा स्कुटरको आयात बढ्दो
चालु आर्थिक वर्ष २०८२÷८३ मा दुईपाँग्रे सवारी साधनको आयात उल्लेख्य रूपमा वृद्धि भएको छ। गत वर्षको तुलनामा चालु आवमा दुईपाँग्रे सवारीसाधन आयात ३३।२४ प्रतिशतले बढेको छ। चालु आवको ८ महिना (साउन–फागुन) सम्मको अवधिमा १ लाख ७६ हजार ६१७ युनिट बाइक तथा स्कुटर आयात भएको छ। यो इन्धन तथा ईभी दुवैको आयात हो।
गत वर्ष ८ महिनामा १ लाख ३४ हजार ८०० युनिट बाइक तथा स्कुटर आयात भएको थियो। गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा ४४ हजार ८१७ युनिट धेरै दुईपाँग्रे सवारी आयात भएको हो। चालु आवमा आयात भएका दुईपाँग्रे सवारी मध्ये १ लाख ६५ हजार ३२६ युनिट पेट्रोल बाइक तथा स्कुटर आयात भएको छ।
आठ महिनाको अवधिमा २१ अर्ब ४० करोड रुपैयाँ बराबरको पेट्रोल कार आयात भएका छन् जसबाट सरकारले २० अर्ब ८७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। चालु आवमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको १४ हजार २६२ युनिट विद्युतीय बाइक तथा स्कुटर आयात भएका छन्। उक्त आयातबाट सरकारले ४६ करोड ७९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।