काठमाडौं। विभिन्न समूहको आन्दोलन, राजनीतिक समीकरण बदलिने हल्ला, आर्थिक अनिश्चिततालगायत कारण यो साताको सेयर बजार समग्रमा सन्तोषप्रद रहेन।
गत साता नयाँवर्ष आगमनसँगै पुँजीबजारमा उत्साह थपिए पनि यो साताको सेयर बजारले निरन्तर घटेर लगानीकर्ताको मनोबल उकास्न सकेन।
यो साता पाँच कारोबार दिनमध्ये अन्तिम बिहीबार मात्रै नेप्से परिसूचक सामान्य अंकले बढेको थियो।
यो साता चार कारोबार दिन सेयर बजार घटेको थियो भने अन्तिम कारोबार दिन २.०८ अंकले बढेको थियो। यसलाई सामान्य अंकको वृद्धि मानिन्छ।
यो साता समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक २.३८ प्रतिशत घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) जनाएको छ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ७२२ दशमलव ७३ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६५८ दशमलव शून्य २ बिन्दुमा बन्द भएको हो। यो साता नेप्से ६४ दशमलव ७१ अंकको गिरावट आएको छ।
पछिल्लो साताको कारोबारलाई हेर्दा लगानीकर्तामा अन्योल देखिएको छ। यो साता सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३९ प्रतिशत घटेर ४४७ दशमलव २६ बिन्दुमा बन्द भएको छ । यो साता कुल बजार पुँजीकरण १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँभन्दा कम भएको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २६ अर्ब २३ करोड २२ लाख रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबार दिन बिहीबार ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँमा समेटिएको हो।

नेप्सेका अनुसार यो साता बजार घटे पनि कुल कारोबार रकम र कित्ता बढेको छ । गत साता ३२ अर्ब ८८ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख १५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४० अर्ब ९८ करोड ५४ लाख रुपैयाँभन्दा बढीको १० करोड ३३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ, जुन गत साताभन्दा २५ प्रतिशत बढी हो।
यस्तै, गत साताभन्दा यो साता कुल कारोबार रकम ८ अर्ब ९ करोड रुपैयाँभन्दा बढी र कुल कारोबार कित्ता २ करोड ७८ लाख ९९ हजारभन्दा बढी भएको छ।
यो साता ८ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको २ करोड ६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता ८ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको १ करोड ८८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो।
साताको सेयर कारोबार नेप्से परिसूचक घटे पनि उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.५७ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाए पनि अन्य समूहका लगानीकर्ता निरास हुनुपरेको छ।
यो साता विकास बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७६ प्रतिशत घटेको छ भने वित्त समूहको ४ दशमलव ५८ प्रतिशत घटेको छ। बैंकिङको ३ दशमलव ४६ प्रतिशत, जीवन बिमाको २ दशमलव शून्य ६ प्रतिशत, निर्जीवन बिमाकाे २ दशमलव शून्य ३ प्रतिशत, अन्यको १ दशमलव ५० प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ७३ प्रतिशत, जलविद्युत्को २ दशमलव ६८ प्रतिशत, लघुवित्तको २ दशमलव ४८ प्रतिशत, व्यापारिकको २ दशमलव शून्य ७ प्रतिशत र लगानीको १ दशमलव शून्य ९ प्रतिशत परिसूचक घटेको छ।
नयाँ वर्ष लागेसँगै उकालाे चढेकाे बजार क्रमशः तल झर्न थालेकाे याे साताकाे काराेबारले देखाएकाे छ। सेयरबजार निरन्तर घटेपछि लगानकर्ताकाे मनाेबल उकास्ने गरी सरकार तथा राजनीतिक दलहरूले अस्थिरता हटाउने उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ।