काठमाडौं। सेयर बजारमा सामान्य सुधारको संकेत देखिएको छ । यस दिन नेप्से सूचक ५.९८ विन्दुले बढेर २६६४.०१ अंकमा आएको छ । १० अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सूचकसँगै कारोबार रकममा पनि क्रमशः तेजी आएको देखिन्छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक बढेका छन् ।
कारोबारसमेत बढेले बजारमा क्रेता–बिक्रेताहरुको संख्या बढेको अनुमान गर्न सकिन्छ । वैशाखको मध्यतिर आइपुग्दा अब बजारले विस्तारै लामो समय चलेको साइडवेज ट्रेन्डलाई ब्रेक गर्दै अघि बढ्न सक्ने संकेतहरु गरेको छ । बजार बढ्दै जाँदा लगानीकर्ताको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदै जाने अनुमान गरिन्छ । बजार बढेकै बेला कारोबारी र लगानीकर्ता दुवै थपिने ट्रेन्ड रहेको छ । अब क्रमशः सेयर बजारको सिजन पनि सुरु हुँदैछ । सामान्यतयः वैशाख लागेसँगै बजारको सिजन सुरु हुने विश्वास गरिन्छ ।
अब करिब १ महिनापछि नयाँ बजेट पनि आउनेछ । बजेटमार्फत अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यक्रमहरु आउने विश्वास निजी क्षेत्रले गरिरहेको छ । सेयर बजारका लगानीकर्ताले पनि बजेट सेयर बजारमैत्री हुने विश्वास लिइरहेका छन् । लाभकरको दर घटाइने आशामा कतिपय लगानीकर्ता बसेको देखिन्छ । सेयर बजार निकै हदसम्म मनोविज्ञान पनि चल्ने भएकाले सरकार तथा नियामक निकायले चाल्ने सकारात्मक कदमले निकै ठूलो प्रभाव पार्ने गर्छ ।
यता, सत्ता साझेदार प्रमुख घटकहरुबीच गभर्नर नियुक्तिका लागि सहमति भइसकेको खबरहरु सार्वजनिक भइरहेका छन् । गभर्नर नियुक्तिपछि केन्द्रीय बैंकले पूर्णता पाउनेछ । यसबाट पनि आम लगानीकर्ताको मनोबल उकास्ने धेरै हदसम्म सहयोग पुग्ने अनुमान गर्न सकिन्छ । केन्द्रीय बैंकका नीतिहरुल सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो प्रकरणको पनि ठूलै भूमिका हुने विश्वास गरिएको छ । हुन त केन्द्रीय बैंक सेयर बजारको प्रत्यक्ष नियमनकारी निकाय होइन । तर उसले लिने नीतिले पुँजी बजारमा भने प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।
यता, लामो समयदेखि बजार डाउन ट्रेन्ड हुँदै साइडवेजमा गएकाले बजारमा सेयर भाउ सस्तो भएको छ । सबल वित्तीय सूचक भएकै कम्पनीहरुको मूल्य पनि घटेको अवस्था छ । यस्तो बेलामा योजनाबद्ध ढंगले लगानी गर्न सके भविष्यमा पुँजीगत लाभ लिन सकिने देखिन्छ । तर कम्पनी छनोट लाभांश क्षमता उच्च रहेका, नियमित लाभांश वितरण गरेका, प्रमुख वित्तीय सूचकहरु सबल रहेका तथा कम्पनीको व्यवस्थापन तथा सञ्चालक समिति प्रभावकारी भएका कम्पनीहरु छनोट गर्न जानकारहरुले सुझाव दिने गरेका छन् ।
अहिले पनि समग्रमा बजार बुल रनमै रहेको विश्वास गरिएको छ । बुल रनमा रहँदा बढ्नेक्रम अझै बढ्ने गर्छ । यसकारण पनि लामो करेक्सन र साइडवेज प्रवृत्तिका बाबजुत पनि आम लगानीकर्ता बजार बढ्नेमै विश्वस्त रहेको देखिन्छ । यतिबेला सेयर बजार माथि जानका लागि कतिपय महत्वपूर्ण कुराहरुल साथ दिइरहेको देखिन्छ । बैंक ब्याजदर न्यून विन्दुमा झर्दा बैंकिङ प्रणालीमा भने अधिक तरलताको अवस्था छ । यसले बजारलाई माथितिर लैजानुपर्ने धेरैको अनुमान रहेको छ ।
यस्तै, बैंक–वित्तीय संस्थाले सेयर धितो कर्जालाई प्राथमिकतामा पनि राखेका छन् । ठूला लगानीकर्ताहरुले कर्जा लिनेक्रम समेत वृद्धि भएको छ । यसर्थ, यसको सकारात्मक प्रभाव विस्तारै देखिन थाल्ने अनुमान गरिएको छ । यस दिन ३ सय १४ कम्पनीको २ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र राधी विद्युत कम्पनी परेका छन् ।