काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले हालसम्म हासिल उपलब्धि र वर्तमान अवस्था प्रस्तुत गर्दै भावी योजना तय गर्न यो श्वेतपत्र जारेको गरेको छ। प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र शाक्यको प्रवेशपछि यसअघिका कुलमान घिसिङले प्रस्तुत गरेका उपलब्धिका आँकडा केही फेरबदल गर्दै नयाँ आँकडासहितको श्वेतपत्र जारी गरेको हो।
यसअघि घिसिङले नेपाललभर ९९ प्रतिशतमा विद्युत् पुगेको उपलब्धि सार्वजनिक गरेकामा नयाँ नेतृत्वले यस्तो पहुँचमध्ये ९७.५% पालिकामा र ९५% वडामा पुगेको श्वेतपत्र जारी गरेकाे छ।
यस्तै, घर संरचनाको आधारमा ९१.४१% र परिवार संख्याको आधारमा ८४.६२% विद्युतीकरण भएको श्वेतपत्र जारी गरेको हो। २०८१ माघसम्म प्राधिकरणको कुल ग्राहक संख्या ( मिटर संख्या) ५५,८६,०३७ रहेको छ।
श्वेतपत्रका अनुसार उत्पादनतर्फ चालू आवको माघसम्म नेपालको कुल जडित उत्पादन क्षमता ३, ५११.५७ मेगावाट रहेको छ, जसमध्ये प्राधिकरण मातहतका विद्युतगृहको जडित क्षमता ६६१.५७ मेगावाट रहेको छ।
चालू आवको फागुनसम्म आयातसहित प्रणालीमा उपलब्ध करिब १०,४३० गिगावाटमध्ये करिब ८,६६५ गिगावाट विद्युत आन्तरिक खपत र १,७६५ गिगावाट निर्यात भएको छ।
यस अवधिमा २०६ गिगावाट यूनिट विद्युत अवरुद्ध भएको श्वेतपत्रमा उल्लेख छ।
२०८१ फागुनसम्म आन्तरिक उच्चतम माग २,३३७ मेगावाट रहेको छ भने चालू आव अन्तिमसम्म २,४३८ मेगावाट पुग्ने प्रक्षेपण रहेको छ। गत आवमा प्रणालीमा चुहावटसहितको कुल राष्ट्रिय विद्युतको मागको आधारमा प्रतिव्यक्ति विद्युत खपत ४०० किलोवाट आवर रहेको छ भने चुहावटबाहेकको कुल विद्युत विक्रीको आधारमा प्रतिव्यक्ति विद्युत खपत ३५१ किलोवाट आवर रहेको छ।
२०८१ माघसम्म प्रसारण प्रणालीमा ३.३८% र वितरण प्रणालीमा ९.२१% चुहावट (निर्यातसहित) रहेको छ। निर्यात विद्युतको परिमाण समावेश गर्दा प्रणालीको वास्तविक चुहावटलाई संकेत गर्न नसक्ने सम्भावना रहेकाले विद्युत निर्यातलाई उत्पादन र विक्री दुवैबाट घटाउँदा खुद आन्तरिक चुहावट १४.८५% रहेको छ। यसअघिकाे तथ्यांकमा चुहावट घटेर ११ प्रतिशतमा झरेकाे प्रतिवेदन घिसिङले सार्वजनिक गरेका थिए।
माग र आपूर्तिको असन्तुलन
राष्ट्रिय विद्युत प्रणालीमा वर्षा तथा सुख्खायामको विद्युत माग र आपूर्तिच फरक किसिमको असन्तुलन रहेको छ। एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुक्खायाममा विद्युतको माग पूर्ण रुपमा आपूर्ति गर्न सकिएको छैन। आगामी दिनमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रुपमा देखिएको श्वेतपत्रमा उल्लेख छ।
प्राधिकरणको प्रक्षेपण अनुसार आ.व. २०८२/८३ को वर्षायाममा करिब २,६४८ मेगावाट र आ.व. २०८३/८४ को वर्षायाममा करिब ३,३१६ मेगावाट सम्म जगेडा विद्युत निर्यात हुनुपर्ने देखिन्छ भने आ.व. २०८२/८३ को सुक्खायाममा ७९१ मेगावाट र आ.व. २०८३/८४ को सुक्खायाममा ७२८ मेगावाट अपुग विद्युत आयात गर्नुपर्ने देखिएकाे छ।
यसको दिगो समाधान र ऊर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्प जलाशययुक्त आयोजना र व्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्ने र सँगसँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२- १४% बाट बढाएर २०% पुर्रयाउन सबै प्रयास गर्नुपर्ने श्वेतपत्रमा उल्लेख छ।
विद्युतको विश्वसनीयता
प्रसारण प्रणालीतर्फ आ.व. २०८१/८२ को फागुनसम्म जम्मा ३१ पटक गरी ४ घन्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको छ। वितरण प्रणालीमा देशभरी जडित थ्री फेज स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको २०८१ श्रावणदेखि चैतसम्मको तथ्यांकको आधारमा वार्षिक औषत ८२५ पटक र ३७ मिनेट प्रतिअवरोध गरी जम्मा ५०९ घन्टा ग्राहकमा औषत विद्युत अवरूद्ध भएको छ। यो अवरोध समयलाई क्रमशः कम गरिँदै लगिने श्वेतपत्रमा भनिएकाे छ।
विद्युतीय पूर्वाधार
उच्च भोल्टेज सञ्जालतर्फ कुल ६,७४५ सर्किट कि.मि. प्रसारण लाइन तथा १३,७५४ एम.भी.ए. सबस्टेसन सञ्चालनमा रहेका छन् भने क्रमशः २,१२९ सर्किट कि.मि. प्रसारण लाइन तथा ६,६६९ एम.भी.ए. सबस्टेसन निर्माणाधीन छन्। अन्तरदेशीयतर्फ कुल १,७४५ मेगावाट क्षमताको २२४ सर्किट कि.मि. सञ्चालनमा छन्। निर्माणाधीन आयोजना सम्पन्न गर्न करिब ९२ अर्ब २८ करोडको दायित्वसहित वित्तीय व्यवस्था गर्न आवश्यक रहेको देखिन्छ।
वितरण सञ्जालतर्फ ३३/११/०४/०.२३ केभी लाइनको जम्मा लम्बाइ २,१०,३१७.४२ सर्किट कि.मि. रहेको छ भने, कुल २,६०८ एम.भी ए. क्षमताको १९८ वटा ३३/११ के.भी. सबस्टेसन रहेका छन्। निर्माणाधीन भूमिगत वितरण लाइनतर्फ एच टी केबुल १.३२० कि. मि. मध्ये ४२९ कि.मि. चार्ज भएको र एल. टी केवुल १,४१६ कि. मि.मध्ये ५२८ कि.मि. मात्र चार्ज भएको छ।
हाल निर्माणाधीन वितरण लाइन, सबस्टेसन तथा अन्य आयोजना सम्पन्न गर्न करिब ३० अर्ब ५५ करोड आवश्यक हुने श्वेतपत्रमा उल्लेख छ। यसरी हाल निर्माणाधीन प्रसारण र वितरण संरचनाका लागि मात्र १ खर्ब २२ अर्ब वित्तीय व्यवस्था गर्नुपर्नेछ।
विद्युत खरिद बिक्री
हालसम्म ११,१८५ मेगावाट क्षमताको विद्युत खरिद सम्झौता सम्पन्न भइसकेकाे प्राधिकरणले जनाएकाे छ। कुल १२,८९४ मेगावाट बराबरको लागि आवेदन प्राप्त भएमध्ये ५,४७८ मेगावाट क्षमताको कनेक्सन एग्रीमेन्ट सम्पन्न भएको छ। कुल ९६० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना पीपीइ हुने क्रममा छन्।
भारतीय ऊर्जा एक्सचेन्ज बजारमार्फत ५३६ मेगावाट र मध्यकालीन (५ वर्ष) हरियाणामा करिब २३५ मेगावाट र पीटीसी इन्डियामार्फत बिहारमा १२५ मेगावाट गरि ८९६ मेगावाट तथा बंगलादेशलाई ४० मेगावाट गरी कुल ९३६ मेगावाट विद्युत निर्यात गर्न अनुमति पाएको छ भने २९० मेगावाट क्षमताको आयोजनाहरु अनुमतिको पर्खाइमा छन्।
भारतीय ऊर्जा एक्सचेन्ज आइएक्स बजारमा बिडिङको माध्यमबाट विद्युत निर्यात गर्न आयोजनाको अनुमति वर्षेनि नवीकरण गर्नुपर्ने, आइएक्समार्फत विद्युत आयात गर्दा दिउँसोमा ११ घण्टा र राती ११ बजेदेखि ५ घण्टा मात्र विद्युत उपलब्ध हुने, भारतसँग सीमा जोडिएका र विद्युत व्यापार सम्झौता नभएका मुलुकको सहभागितामा निर्माण हुने आयोजनाको विद्युत आयातसम्बन्धी भारतीय नीति र एक मात्र ४०० के.भी. को अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरलगायत कारणले प्राधिकरणको आवश्यकताअनुसार सहज रूपमा विद्युत आयात/निर्यात गर्न चुनौती रहेको छ।