काठमाडौं। नेपालमा बढ्दो सवारी साधनको चापले सार्वजनिक यातायातको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यो समस्या कम गर्नका लागि विश्वका ठूला सहरमा सफल मानिएको डबल डेकर बसलाई काठमाडौंमा पनि प्रयोग गर्न सकिन्छ कि भन्ने बहस चल्ने गरेको छ।
काठमाडौंको बढ्दो ट्राफिक जाम कम गर्न डबल डेकर बस संचालन गर्नु उपर्युक्त विकल्प हुन सक्छ। धेरै देशमा सफल मानिएको डबल डेकर बस प्रणालीलाई नेपालमा प्रयोग गर्न सकिन्छ कि, भन्ने बहस चले पनि अहिलेको संरचनामा सम्भव देखिदैन। नेपालमा डबल डेकर बस सम्भव छ? यसको महत्व कति छ? किन अहिलेको अवस्थामा यो प्रणाली व्यवहारिक छैन? भन्ने विषयमा गहिरो विश्लेषण आवश्यक देखिएको विज्ञहरु बताउँछन्।
नेपालमा जबसम्म तारहरु भूमिगत हुँदैनन्, तबसम्म डबल डेकर बसको सम्भावना नभएको सडक तथा सार्वजनिक यातायात विज्ञ भगवती सेढाईं बताउँछिन्।
‘नेपालमा डबल डेकर बसको सम्भावना अहिले छैन, जबसम्म हाम्रो संरचना डबल डेकर मैत्री बन्न सक्दैन, तबसम्म यो सम्भव छैन,’ सेढाईं भन्छिन्, ‘हाम्रो संरचनाहरु डबल डेकर मैत्री र तारहरु भूमिगत भएमा सम्भव छ।’ हाम्रो संरचनाहरु डबल डेकर मैत्री भएमा एकैचोटी धेरै जनालाई ट्राभल गर्न सक्ने डबल डेकर बस हुन सक्ने भए पनि अहिलेको संरचनामा सम्भव नहुने उनको भनाइ छ।
‘संसारमा चलेको डबल डेकर बस नेपालमा पनि चल्न सम्भव छ। यदि हाम्रो संरचनाहरु डबल डेकर मैत्री भए,’ उनी थप्छिन्, ‘अहिले साझा बस डबल डेकर भएको भए धेरै मासलाई ट्राभल गर्न सहज हुने थियो। तर, हाम्रोमा डबल डेकर मैत्री रोड छैन।’ एकैपटक धेरै मानिसहरु ट्राभल गर्न सक्ने भएकाले काठमाडौंमा डबल डेकर बसको महत्व बढेको सेढाई बताउँछिन्।
नेपालका धेरै घरहरू सडक छेउमै चुच्चा र बालकनी निस्केका छन्। ती घरहरूको डिजाइन सडकमै फैलिएको हुन्छ।
सेढाईंका अनुसार डबल डेकर बसका लागि सबैभन्दा ठूलो समस्या यहाँको सडक र पूर्वाधार हो। काठमाडौंको सडकहरू साँघुरा छन्। कतिपय ठाउँमा सडकको चौडाई दुई सवारी क्रस गर्न पर्याप्त पनि छैन। यस्तो अवस्थामा दुई तलाको अग्लो बस चलाउने कल्पना पनि चुनौतीपूर्ण देखिन्छ। अर्काे भनेको काठमाडौंमा विद्युत्, टेलिफोन र इन्टरनेटका तारहरू टाँगिएका छन्। यी तारहरू सडकमाथि लत्रिएका हुन्छन्। यसले डबल डेकर बस चल्न सम्भव हुँदैन।
नेपालका धेरै घरहरू सडक छेउमै चुच्चा र बालकनी निस्केका छन्। ती घरहरूको डिजाइन सडकमै फैलिएको हुन्छ। यस्तो अवस्थामा ठूलो र अग्लो बसले सहजै चल्ने ठाउँ पाउँदैन। धेरै ठाउँमा बसको माथिल्लो भाग घरको छानो वा बालकनीसँग ठोक्किन सक्छ। साथै, सडक छेउका ठूला रुखहरू पनि अर्को चुनौती हो।
काठमाडौंमा डबल डेकर बसको सम्भावना रहेको यातायात विज्ञ आशिष गजुरेल बताउँछन्। काठमाडौंमा डबल डेकर बसको सम्भावना देखिएकाले त्यो लागू गर्नुपर्छ भन्ने उनको भनाइ छ।
‘काठमाडौंमा डबल डेकर बसको सम्भावना म चाहिँ देख्छु। हुनत अहिले धेरै ठाउँमा आकाशे पुलहरु बनेका छन्। त्यसले केही बाधा गर्यो भने छुट्टै कुरा हो,’ उनले भन्छन्, ‘म डबल डेकर बसको सम्भावना हेरौँ। आर्टिकुलेटेड बस दुई तीन वटा जोडेर हेरौँ भनिरहको छु।’
यातायात विज्ञ गजुरेका अनुसार काठमाडौंमा डबल डेकर बसको आवश्यकता देखिन्छ। डबल डेकर बसमा दुई वटा बस बराबरका यात्रु एउटै बसमा बोक्न सक्ने क्षमता भएकाले यसले सडकमा सवारीको चाप घटाउँछ। यसले काठमाडौंमा भिडभाड कम गर्न, प्रदुषण घटाउन र ‘पिक आवर’मा धेरै मासलाई सुरक्षित तथा सहज यात्रा सुविधा प्रदान गर्न ठूलो भूमिका खेल्न सक्छ।
काठमाडौंमा अहिलेका सडक संरचना, बस स्टप र पुलहरू साधारण बसका लागि डिजाइन गरिएका छन्। डबल डेकर बसका लागि विशेष उचाईका बस स्टप, सवारी चढ्ने ओर्लिने प्लेटफर्म र पर्याप्त हेडरुम आवश्यक पर्छ।
‘आवश्यकताको हिसाबले डबल डेकर बस एकदमै महत्त्वपूर्ण देखिन्छ। तर, यसको लागि पूर्वाधारमा चुनौती भने छ,’ विज्ञ गजुरेल भन्छन्, ‘डबल डेकर बसमा धेरै यात्रु बोक्ने क्षमता हुने हुँदा यो उपत्यकाको सडकका लागि एकदमै उपयोगी र आवश्यक छ।’
काठमाडौंमा अहिलेका सडक संरचना, बस स्टप र पुलहरू साधारण बसका लागि डिजाइन गरिएका छन्। डबल डेकर बसका लागि विशेष उचाईका बस स्टप, सवारी चढ्ने ओर्लिने प्लेटफर्म र पर्याप्त हेडरुम आवश्यक पर्छ। यदि, नेपालले आवश्यक पूर्वाधार तयार गर्न सक्यो भने काठमाडौंमा यो प्रणाली अत्यन्तै उपयोगी हुनसक्छ। डबल डेकर बसको मुख्य फाइदा भनेको यात्रु क्षमता हो। एउटै बसले दुई बस बराबरका मानिसहरू बोक्न सक्छ, जसले ट्राफिक कम गर्छ र सडकमा सवारीको संख्या घटाउँछ।
तर, अहिलेको समयमा नेपालले तत्काल डबल डेकर बस सञ्चालन गर्न सक्ने अवस्था नभएको विज्ञहरुको भनाइ छ।
के हो डबल डेकर बस?
डबल डेकर बस भनेको दुई तलाको बस हो। जसमा यात्रुहरू माथिल्लो र तल्लो तलामा बस्न सक्छन्। यो प्रणालीले एउटै बसबाट धेरै यात्रुहरूलाई एकैपटक यात्रा गर्न सहज बनाउँछ।
विश्वका धेरै ठूला सहरहरू लण्डन, हङकङ, सिंगापुरलगायत भारतका केही सहरहरूमा पनि डबल डेकर बसलाई शहरभित्रको सार्वजनिक यातायातको मुख्य माध्यमको रूपमा प्रयोग गरिएको छ। यसले ट्राफिकको चाप घटाउने, सडकको उपयोग दक्ष बनाउने र यात्रु क्षमता बढाउने काम गर्छ। नेपालमा पनि डबल डेकर बस संचालन भएमा सार्वजनिक यातायात व्यवस्थापन गर्न सहज हुनसक्छ।