काठमाडौं। पाकिस्तानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि भारतले अन्तर्राष्ट्रिय समुदायलाई यसबारे जानकारी दिएको छ।
भारतका वरिष्ठ अधिकारीले अमेरिका, बेलायत, साउदी, यूएई र रुसी समकक्षीलाई पाकिस्तानमाथिको सैन्य कारबाहीबारे जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
वासिङ्टन डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको विज्ञप्ति निकाले बताएको छ।
अमेरिकी विदेशमन्त्री रुबियोले भारत र पाकिस्तानबीचको अवस्थाबारे नजिकबाट निगरानी गरिरहेको जनाएका छन्। सामाजिक सन्जाल एक्समा पोस्ट गर्दै घटना निगरानी गरिरहेको बताएका हुन्।
यसअघि उनले वासिङ्टन डिसीस्थित ह्वाइट हाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतको कारबाहीबारे मिडियाको प्रश्नको जवाफमा यसलाई दुःखद् र चाँडै समाप्त हुने आशा गरेको प्रतिक्रिया दिएका थिए।
रुबियोले ट्रम्पको टिप्पणी दोहोर्याउँदै यो तत्काल समाधान हुने आशा व्यक्त गरे। उनले भारत र पाकिस्तानी नेतृत्वसँग शान्तिपूर्ण समाधानको लागि सम्पर्क जारी राख्ने पनि जनाए।
यसबाहेक संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारतले गरेको सीमा नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमा पार सैन्य कारबाहीबाट धेरै चिन्तित बनेको बताउँदै दुवै देशलाई संयम हुन अपिल गरेको उनका प्रवक्ताले बताएका छन्।
गुटेरेसका प्रवक्ताले संयुक्त राष्ट्रसंघका महासचिव भारत र पाकिस्तानबीच बढ्दै गरेको सैन्य टकरावबाट धेरै चिन्तित र दुवै देशले अधिकतम संयम कायम राख्न आग्रह गरेका छन्। उनले विश्वले भारत–पाकिस्तानबीचको सैन्य टकरावको जोखिम बेहोर्न नसक्ने उल्लेख गरेको बताए।–एजेन्सी