काठमाडौं। भारत सरकारले त्यहाँको समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएको छ। भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर सरकारले प्रतिबन्ध लगाएको हो।
यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको थियो। द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, कम्तिमा दुई वटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ।
‘यो प्रतिबन्ध पूर्ण लागू नहुञ्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ’, उनले भनेका छन्, ‘त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिट्टै एउटा मिरर साइट सुरु गर्नेछौं ।’
द वायरले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ ।
‘हामी अत्यन्त संवेदनशील समयमा भएको यो प्रतिबन्धतको विरोध गर्छौं, जतिबेला विवेकपूर्ण, सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज तथा समाचार स्रोतहरू आवश्यक छ’, सूचनामा भनिएको छ, ‘यो कमदविरुद्ध हामीले आवश्यक कदमहरू पनि चालिरहेका छौं ।’
सूचनामा ‘सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न पछि नहट्ने’ समेत भनिएको छ । भारतीय अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थसहितको समूहले सन् २०१५ मा वायरको स्थापना गरेको थियो।
भारतमा सरकारबाट स्वतन्त्र रहेका सीमित समाचार संस्थाहरूमध्ये गनिने वायरविरुद्ध विभिन्न व्यवसायी, राजनीतिज्ञ लगायतले मानहानीका थुप्रै मुद्दाहरू दायर गरेका छन्।
केही महिनाअघि ‘द काराभान’ म्यागजिनले कश्मिरमा भारतीय सेनाबारे रिपोर्टिंग छापेका बेला पनि सञ्चार मन्त्रालयले अनलाइनबाट हटाउन निर्देशन दिएको थियो । ‘द काराभान’ म्यागजिन पनि भारतमा सत्तालाई प्रश्न गर्ने सीमित सञ्चारमाध्यमहरूमध्ये पर्छ।