काठमाडौं। चीनमा निर्माणमा भई बिक्री हुँदै आएको सेरेस ३ को उत्पादन बन्द भएपछि सेरेस ग्लोबलले आफ्नो वेबसाइटबाट सम्पूर्ण विवरण हटाएको छ। कम्पनीले सेरेस ३ बारे सम्पूर्ण लाइनअप, जानकारी र विवरणलाई वेबसाइटबाट हटाएको हो।
नेपालसहित विश्वका विभिन्न मुलुकमा बिक्री हुँदै आएको चिनियाँ गाडी सेरेस ३ को उत्पादन बन्द गरेसँगै कम्पीले आफ्नो आधिकारिक वेबसाइटबाट सम्पूर्ण विवरण हटाएको हो।
सेरेसको आधिकारिक वेबसाइट ग्लोबलसेरेसडटकम https://www.global-seres.com/ सेरेस ३ को कुनै पनि विवरण समावेश गरेको छैन। त्यहाँ अर्को उत्पादन सेरेस ५ र सेरेस ७ को जानकारी मात्र उल्लेख गरेको छ, जुन गाडी नेपालमा आएको छैन। कम्पनीले सोही वेबसाइटमा आफ्नो नयाँ ब्रान्ड एआइटीओबारे पनि उल्लेख गरेको छ।
ब्याट्रीमा बारम्बार समस्या देखिएपछि उपभोक्ता र बजारबाट आलोचना बढ्दै जाँदा कम्पनीले सेरेस ३ को उत्पादन बन्द गरेको हो।
नेपालीमा सेरेस ३ को बिक्री तथा वितरण एमएडब्लू वृद्धि अटोमोबाइलमार्फत हुँदै आएको छ। नेपालमा बिक्री भएका केही गाडीमा समेत समस्या आइरहेको छ ।
यो पनि पढ्नुस् : सेरेस ईभीमा समस्या देखिएपछि एमएडब्लू वृद्धिले ग्राहकबाट गुपचुप फिर्ता लियो ७ गाडी
चीनमा किन बन्द भयो सेरेस ३?
डोङफेङ मोटर कर्पोरेसन र सेरेसबीचको सहकार्यमा उत्पादित सेरेस ३ ले प्रारम्भमा सस्तो, साधारण र पहिलो पटक ईभी किन्ने ग्राहक लक्षित एसयूभीका रुपमा बजारमा ध्यान खिचेको थियो। तर, बजारमा आएको केही समयमै यसले विभिन्न चुनौती भोग्नुपर्यो।
ग्राहक प्रतिक्रिया, समीक्षा तथा परीक्षण रिपोर्टमा यसमा गुणस्तर, निर्माण असमानता, कमजोर प्रदर्शन, सफ्टवेयर समस्या र समग्रमा विश्वासनीयताको कमीजस्ता समस्या देखिएका थिए।
जब बजारमा विश्वविख्यात कम्पनीले गुणस्तरीय ईभी ल्याए, सेरेस ३ को कमजोरी झनै प्रस्ट हुन थाल्यो। यिनै समस्याका कारण कम्पनीले अन्ततः सेरेस ३ को उत्पादन बन्दको निर्णय गरेको हो।
अब कम्पनी हुवावेसँग सहकार्य गर्दै नयाँ एआईटीओ ब्रान्डमार्फत केवल प्रिमियम स्तरका ईभी उत्पादन गर्ने रणनीतिमा अघि बढेको छ। यसैअनुसार सेरेस अटोको आधिकारिक फेसबुक पेजको नाम पनि २०२४ अक्टोबरदेखि एआईटीओमा परिवर्तन गरिएको छ।