काठमाडौं। सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म चीनको कार उत्पादन र बिक्री ३ करोड १० लाख नाघेको छ। गत वर्षको तुलनामा यस वर्षको उत्पादन र बिक्री १० प्रतिशतभन्दा बढी हो। तथ्यांकअनुसार बिवाईडी गाडीको उत्पादन गत वर्षको तुलनामा यो वर्ष पनि अग्रस्थानमै छ।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्यांकअनुसार २०२५ को ११ महिनामा ३ करोड १० लाख नाघेको हो।
नोभेम्बरको उत्पादन पहिलो पटक ३५ लाख युनिट नाघेको छ, जुन मासिक रूपमा उच्च रेकर्ड हो। नयाँ ऊर्जा सवारीसाधन (एनईभी) उत्पादन र बिक्री जनवरी–नोभेम्बर अवधिमा लगभग १ करोड ५० लाख युनिट पुगेको छ। यस वर्ष एनईभीको कुल निर्यात २३ लाख १५ हजार सवारी साधन भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बर भएको संघले जनाएको छ।
नोभेम्बरमा चिनियाँ एनईभी बजार
बिवाईडीको अग्रता निरन्तर, नयाँ तथा पुराना ब्रान्डको वृद्धि
बिवाईडीः चिनियाँ बजारमा नोभेम्बर महिनामा सबैभन्दा धेरै बिक्री बिवाईडीको भएको छ। २०२५ को नोभेम्बर महिनामा बिवाईडीले ४ लाख ८० हजार १८६ एनईभी डेलिभरी गरेको छ, जुन गत वर्षको तुलनामा ५.२५ प्रतिशतले कम हो।
बिवाईडीले नोभेम्बरमा बिक्री डेलिभरी गरेमध्ये २ लाख ३७ हजार ५४० ब्याट्री इलेक्ट्रिक सवारी थिए। यो गत वर्षभन्दा १९.९३ प्रतिशतले बढेको हो। एक महिनामा मात्र बिवाईडीको प्लगइन हाइब्रिड २ लाख ३७ हजार ३८० युनिट डेलिभरी भएको छ। यो २२.४१ प्रतिशतले घटेको हो।
नोभेम्बरमा बिवाईडीको एनईभी बिक्री विदेशी बजारमा १ लाख ३० हजार युनिट नाघेको छ, जुन कम्पनीको नयाँ रेकर्ड हो। नोभेम्बरको बिक्रीसँगै एनईभीको बिक्री १४.७ मिलियन युनिट नाघेका छन्, जसले चीनको सबैभन्दा ठूलो एनईभी निर्माताको रूपमा यसलाई मजबुत बनाएको छ।
एसआईसीः एसआईसी समूहले नोभेम्बरमा १ लाख ४९ हजार ९०० एनईभी बिक्री गरेको छ। यो यसका विभिन्न सह–ब्रान्डको बिक्री हो। आईएम मोटर्सले मात्र १३ हजार ५७७ युनिट बिक्री गरेको छ।
लगातार तीन महिना १० हजार युनिटभन्दा धेरै बिक्री गर्दै एसएआईसी प्यासेन्जर भेहिकलले ४२ हजार एनईभी बिक्री गरेको छ। एसएआईसी म्याक्ससले ८ हजारभन्दा बढी एनईभी बिक्री गर्याे भने एसएआईसीले ११ हजार थप्यो।

जिलीः नोभेम्बरमा जिलीले १ लाख ३२ हजार ६६१ युनिट बिक्री गरी तेस्रो स्थानमा रहेको छ। त्यस्तै चांगन अटोले १ लाख २५ हजार एनईभी बिक्री गरेको छ। चांगनको यो बिक्री विगतको भन्दा २३ प्रतिशतले बढी हो। यसै अवधिमा चेरी समूहले २ लाख ७२ हजार ५३६ सवारीसाधन बिक्री गर्याे। यसको एनईभी बिक्री १ लाख १६ हजार ७९४ युनिट पुगेको छ।
चेरीको बिक्री ५०.१ प्रतिशतले वृद्धि भई लगातार चौथो महिना रेकर्ड बनाएको छ। यसको विदेशमा निर्यात १ लाख ३६ हजार ७२८ युनिट पुगेको छ। चेरी समूहले लगातार सात महिनादेखि मासिक १ लाख युनिटभन्दा बढी निर्यात गर्दै चीनको अटो निर्यात बजारमा शीर्ष स्थान कायम राख्दै आएको छ।
नोभेम्बरका तथ्यांकले पुराना तथा नयाँ दुवै एनईभी ब्रान्डहरूको निरन्तर वृद्धिलाई देखाउँछन्। लिपमोटर तथा एचआईएमएजस्ता स्टार्टअपहरूले उत्पादन तथा डेलिभरी क्षमता विस्तार गरिरहेका छन्।
एचआईएमएले नोभेम्बरमा ८१ हजार ८६४ युनिट सवारीसाधन डेलिभरी गरेको छ, जुन गत वर्षको तुलनामा ८९.६१ प्रतिशतले बढी हो। यो मासिक नयाँ रेकर्ड हो। लिपमोटरले पनि रेकर्ड बनाएको छ। नोभेम्बरमा ७० हजार ३२७ युनिट डेलिभरीसहित ७५ प्रतिशत भन्दा बढी वार्षिक वृद्धि र लगातार ९ महिना मजबुत वृद्धि बनाएको छ।
ग्रेटवाल मोटर्सले नोभेम्बरमा ४० हजार १०० युनिट एनईभी बिक्री गरेको छ। यो गत वर्षको तुलनामा ११.४३ प्रतिशतले वृद्धि हो। कम्पनीले विदेशी बजारमा ५७ हजार ३०० युनिट सवारी बिक्री गर्दै नयाँ रेकर्ड बनाएको छ।
साओमी अटोले नोभेम्बरमा ४० हजार बढी सवारी डेलिभर गरेको छ। यसको सेवा तथा खुद्रा संजाल अहिले १३१ सहर, ४४१ स्टोर र २४९ सेवा केन्द्रमा फैलिएको छ।
२०२५ नोभेम्बरमा एक्सपेङले ३६ हजार ७२८ युनिट सवारी डेलिभर गरेको छ। यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो। जिएसी आयोनले नोभेम्बरमा ३६ हजार २८८ एनईभी बिक्री गरेको छ। नियोले ३६ हजार २७५ युनिट डेलिभरी गरेको छ, जुन वार्षिक ७६.३ प्रतिशतले वृद्धि हो।