काठमाडौं। युवा पुस्तालाई लक्षित गरी रोयल इन्फिल्डले नेपालमा नयाँ हन्टर ३५० सार्वजनिक गरेको छ। सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोयल इन्फिल्ड हन्टर ३५० को मूल्य ४ लाख ९४ हजार ९०० रूपैयाँदेखि ४ लाख ९९ हजार ९०० रूपैयाँसम्म ताेकिएकाे छ।
रोयल इनफिल्डका प्रमुख कमर्शियल अफिसर यादविन्दर सिंह गुलेरियाले नेपाल र रोयल इनफिल्डबीचको गहिरो सांस्कृतिक जडलाई उल्लेख गर्दै नयाँ हन्टर ३५० नेपाली युवाको व्यक्तित्व, शैली र सहरको जीवनशैलीसँग पूर्ण रूपमा मेल खाने मोटरसाइकल भएको बताए।
लोकप्रिय स्ट्रीट रोडस्टर हन्टरको यो नयाँ संस्करणमा चार नयाँ रंग, उन्नत फिचर र सुधारिएको डिजाइन समावेश गरिएको छ। कम्पनीका अनुसार नयाँ हन्टर ३५० सेतो, कालो, रातो र ग्रे गरी चार आकर्षक रङमा उपलब्ध छ। रोयल इन्फिल्डको ३५० सिसी सेग्मेन्टमै पहिलोपटक स्लिप–असिस्ट क्लच जडान गरिएको छ।

यसमा नयाँ रियर सस्पेन्सन, बढाइएको ग्राउन्ड क्लियरेन्स र आरामदायी सिट छ। त्यस्तै, एलइडी हेडलाइट छ। ३४९ सिसीको जे–सिरिज इन्जिन, कम्प्याक्ट डिजाइन र नियो–रेट्रो शैलीको संयोजनसहित हन्टर ३५० शहर भित्रका घुम्ती सडकदेखि क्याफेसम्म सहज र आकर्षक राइडका लागि बनाइएको बताइएको छ।
४९ सीसी जे–सिरिज इन्जिन, कम्प्याक्ट जियोमेट्री र नियो–रेट्रो डिजाइनसहितको नयाँ हन्टर ३५० मोटरसाइकल युवा र स्टाइल–केन्द्रित राइडरका आवश्यकतासँग मेल खाने गरी चुस्त, सहज र बहुपयोगी बनाइएको छ। २०२२ मा पहिलोपटक लन्च भएको यो मोडेलले विश्वभर ७ लाखभन्दा बढी राइडरहरूको विश्वास जित्दै रोयल एनफिल्डका सबैभन्दा छिटो लोकप्रियता हासिल गर्ने मोटरसाइकलमध्ये एक बनेको छ।
बुकिङ र टेस्ट राइड नेपालभरका सबै रोयल इन्फिल्ड डिलरमा खुला गरिएको कम्पनीले जनाएको छ। मोटरसाइकल सार्वजनिक भएकै अवसरमा ११ जनाले अग्रिम बुकिङ्ग गरेकाहरुलाई साचो हस्तान्तरण समेत गरिएको छ।