काठमाडौं। नेपालमा पहिलो पटक बाह्या मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन सुरु भएको छ। आर्थिक, समाजिक रुपमा प्रभाव पर्दै आएको मिचाहा प्रजाति रोकथाम तथा व्यवस्थापनका लागि काठमाडौंमा दुई दिने राष्ट्रिय सम्मेलन भएको हो।
वन मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले शुक्रबार र शनिबार दुई दिने सम्मेलन आयोजना गरेको हो।
केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले देशभर पूर्वाधार विकास सङै मिचाहा प्रजाति पनि पुगेको बताए। ‘पूर्वाधार विकास सडक, भवन, जलविद्युत् आयोजना तथा कृषि विस्तारका क्रममा बाह्या मिचाहा प्रजाति जानेर वा नजानेर नयाँ क्षेत्रमा पुर्याइन्छ’, उनले भने, ‘ती प्रजाति अनुकूल वातावरण पाएपछि तीव्र रुपमा फैलिन्छन्।’
मिचाहा प्रजातिलाई रोकथाम गर्न तथा यसको व्यवस्थापनका लागि राष्ट्रिय स्तरको सम्मेलन गरिएको उनको भनाइ थियो। नेपाल वन प्राविबधिक संघ अध्यक्ष राकेश कर्णले मिचाहा प्रजातिलाई व्यवस्थापन गर्न अनुसन्धानबाट आएका नतिजालाई कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
‘नयाँ अनुसन्धानको अनुशरण गर्न सकिएको छैन। थप अनुसन्धान आवश्याक छ। सोहीअनुसार मिचाहा प्रजातिको व्यवस्थापन गर्नुपर्छ’, उनले भने। सम्मेलनमार्फत निस्किएको निचोडलाई कार्यान्वयन पाटोलाई लैजानुपर्ने उनले सुझाए।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वनस्पतिशास्त्र केन्द्रीय विभाग प्रमुख संगीता राजभण्डारीले रैथाने बिरुवालाई मिचाहा प्रजातिले हानि गरिरहेको बताइन्। सम्मेलनको मिचाहा प्रजातिलाई व्यवस्थापनमा सहयोग पुग्ने तर्क राखिन्।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालले मिचाहा प्रजातिलाई बजेटमार्फत नै सम्बोधन गर्नुपर्ने बताए। ‘रणनीतिमा भएका विषय बजेटसहितको कार्यक्रम बनाएर जानुपर्छ’, उनले भने, ‘आयोजना बन्नुपूर्व गरिने वातावरण अध्ययनमा पनि यो विषय राख्नुपर्ने देखिन्छ। यसले व्यवस्थापन गर्न सजिलो हुन्छ। अभियान चलाएर यसलाई व्यवस्थापन गर्न सकिन्छ।’
डा खरालले मिचाहा प्रजातिको रोकथाम, व्यवस्थापन र प्रयोग गर्न सकिने तर्क राखे। कृषि क्षेत्रमा जमिन बाँझो हुनुमा मिचाहा प्रजाति पनि रहेको उनको भनाइ छ।