काठमाडौं। नेपालमा विद्युतीय सवारी(ईभी)पछि प्योर र प्लग–इन–हाइब्रिड गाडीबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाली बाटोलाई सुहाउने र इन्धनको खपत कम गराई विद्युतमार्फत चार्ज भई सञ्चालनमा आउने गाडीको रुपमा लिइएको हाइब्रिड गाडी लिनेको संख्या बढिरहेको छ।
सरकारी नीतिको कारण भन्सार शुल्क अत्याधिक हुँदा महंगो पर्दै आएको हाइब्रिड गाडीलाई विद्युतीय सवारी सरह कर लगाउने हो भने निकै सस्तो पर्ने र नेपाली बजारमा उपयुक्त हुने वैद्य इनर्जिका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुर्यांश वैद्यको भनाइ छ।
‘अहिले पनि हाइब्रिड गाडी किन्न आउनेहरुको संख्या निकै राम्रो छ,’ सिइओ वैद्यले भने, ‘तर विद्युतीयको तुलनामा अत्याधिक महंगो हुने भएकोले ग्राहकहरु फर्किएर जान्छन्, यसमा सरकारले समान नीति लिन आवश्यक छ।’
पछिल्लो समय विश्वमा हाइब्रिड गाडीको उत्पादन तथा बिक्री बढ्दो छ। हाइब्रिड गाडी पुरानै प्रविधि भएपनि अहिले भने यसको नयाँ–नयाँ प्रविधिहरुको विकास हुँदै गएको छ। विश्वमा हाइब्रिड गाडीको माग बढेसँगै नेपालमा पनि प्लगइन हाइब्रिड गाडीको माग बढ्दै गएको छ।
विगतमा प्योर हाइब्रिड मात्र आयात हुने नेपालमा अहिले भने प्लगइन हाइब्रिडको माग बढ्दै गएको छ। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री गर्ने प्योर हाइब्रिड हो। कम्पनीले चार मोडलका प्योर हाइब्रिड बिक्री गर्दै आएको छ। टोयोटा बाहेकका अन्य कम्पनीहरुले बिक्री गर्ने हाइब्रिड प्लगइन हाइब्रिड हुन्। नेपालमा अहिलेसम्म प्योर हाइब्रिड र प्लगइन हाइब्रिड मात्र उपलब्ध छन्।
हाइब्रिड गाडी पुरानै प्रविधि भएपनि अहिले भने यसको नयाँ–नयाँ प्रविधिहरुको विकास हुँदै गएको छ।
हाइब्रिड गाडी नयाँ प्रविधि होइन। सन् १९९७ मा टोयोटाको प्रियसबाट हाइब्रिड गाडीको सुरु भएको थियो। ‘हाइब्रिड भनेको पुरानो टेक्नोलोजी हो। तर, अहिलेसम्म हाम्रो सरकार पूर्ण रुपमा विश्वस्त हुन सकेको छैन। पछिल्लो समय बजारमा धेरै खालका हाइब्रिडहरु आएका छन्,’ प्रमुख कार्यकारी अधिकृत वैद्य भन्छन्, ‘हाल प्लगइन हाइब्रिड, माल हाइब्रिड, स्मार्ट हाइब्रिड आएको छ। यी सबै फरक–फरक खालका गाडी हुन्।’
विद्युत र इन्धन दुवै खपत गर्ने र नेपाली बाटोलाई सुहाउने खालको गाडी नै हाइब्रिड रहेको विजय मोर्टसका सेल्स कन्सल्टेन्ट शिवहरिमान नकर्मीको भनाइ छ। नेपाली बजारमा हाइब्रिड गाडीको ब्रान्ड तथा तिनका मोडलहरु एकदमै कम छन्। मूल्य महंगो भएका कारण हाइब्रिड गाडीको आयात तथा बिक्री ईभीको तुलनामा न्युन छ।
अहिले नेपालमा प्योर हाइब्रिड र प्लगनइन हाइब्रिड दुई खालका हाइब्रिड गाडीहरु उपलब्ध रहेको उनले बताए। हाल नेपालमा टायोटा, किया, निसान, मित्सुवीसी, सुबारु ब्रान्डका हाइब्रिड गाडीहरु उपलब्ध छन् भने बिवाईडी र ओमोडा एण्ड जेककोले पनि हाइब्रिड गाडी ल्याउने योजना बनाइरहेको छ।
के हो प्योर हाइब्रिड
नेपालमा उपलब्ध विभिन्न ब्रान्डका हाइब्रिडमा टोयोटाले बिक्री गर्ने प्योर हाइब्रिड हो। प्योर हाइब्रिड गाडी भनेको त्यस्तो गाडी हो जसमा इन्धन इन्जिन र विद्युतीय मोटर दुवैको संयोजन हुन्छ र यी दुवैले गाडी चलाउन सकिन्छ।
यसमा ब्याट्रीलाई चार्ज गर्न गाडीको इन्जिन र ब्रेकिङ प्रणालीबाट प्राप्त उर्जा प्रयोग गरिन्छ, जसले गर्दा विद्युतीय मोटरले गाडीलाई सानो दूरीका लागि मात्र विद्युतीयमा चलाउन सक्छ।
यस प्रकारका गाडीहरूलाई ‘सेल्फ–चार्जिङ हाइब्रिड’ पनि भनिन्छ। प्योर हाइब्रिड गाडीहरूको मूल्य प्लगइन हाइब्रिड वा पूर्ण विद्युतीय गाडीहरूको तुलनामा कम हुन्छ। यदी इन्धनको खपत कम गर्ने हो र विद्युतीय गाडीहरूको चार्जिङको झन्झटबाट बच्न चाहने ग्राहकहरुको लागि प्योर हाइब्रिड गाडी एक उत्कृष्ट विकल्प हुनसक्छ।
प्लगइन हाइब्रिड
प्लगइन हाइब्रिड भनेको त्यस्तो गाडी हो जसमा इन्धन इन्जिन र ब्याट्रीबाट चल्ने विद्युतीय मोटर दुवैको संयोजन हुन्छ। त्यसको ब्याट्रीलाई घर वा चार्जिङ स्टेसनबाट चार्ज गर्न सकिन्छ।
यस प्रकारका गाडीहरूलाई घरको प्लग वा सार्वजनिक चार्जिङ स्टेसनमार्फत चार्ज गर्न सकिन्छ। ब्याट्री पूर्ण चार्ज हुँदा यी गाडीहरूले ३०–१०० किलोमिटर (गाडीको मोडेल अनुसार) विद्युतीय मोटरमै चल्न सक्छन। इन्धन प्रयोग नगरी। प्लगइन हाइब्रिडमा ब्याट्री सकिएपछि गाडी स्वतः इन्धन इन्जिनमा सर्ने भएकाले लामो दूरीको यात्रामा पनि सहज मानिन्छ।
पछिल्लो समय प्लगइन हाइब्रिड गाडी धेरैको रोजाइमा परेको छ। नयाँ हाइब्रिड गाडी उत्पादन गर्ने अधिकांश कम्पनीहरुले पनि प्लगइन हाइब्रिडनै उत्पादन गरिरहेका छन्।