काठमाडौं । साउनयता सार्वजनिक र निजी लगानीका एक दर्जन बढी आयोजना सम्पन्न भई प्रणालीमा १२३ मेगावाट बिजुली थप भएको छ ।
नेपाल विद्युत प्राधिकरणको लागानीमा १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सम्पन्न भएको छ ।
यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी–१, २२ मेगावाटको तल्लो हेवाखोला, ९.९ मेगावाटको इवाखोला, ७ मेगावाटको अपर मार्दीखोला, ८ मेगावाटको माथिल्लो नौगाड, २३.५ मेगावाटको सोलुखोलालगायत एक दर्जन आयोजनाहरु छन ।
समीक्षा अवधिमा थप १२३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली उत्पादनमा लिएको लक्ष्य पुरा नहुने भएको छ । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी र १११ मेगावाटको रसुवागढीलगायत एक दर्जन आयोजनामा ढिलाइ भएपछि सरकारको लक्ष्य पुरा नहुने भएको हो ।
चालु आर्थिक वर्षमा सरकारले सार्वजनिक र निजी क्षेत्रबाट १ हजार मेगावाट बिजुली उत्पादन गरी जडित क्षमता २ हजार २०० मेगावाट पुर्याउने लक्ष्य तय गरेको थियो ।
चालू आर्थिक वर्षमा प्राधिकरणको सहायक कम्पनी र निजी क्षेत्रका सानारठूला गरी ५० ओटा जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । प्राधिकरणले माथिल्लो तामाकोसी यो वर्ष सम्पन्न भई बिजुली उत्पादन हुने आयोजनाका रुपमा लिएको थियो ।
यद्यपी आउँदो असारसम्म माथिल्लो तामाकोसीको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
जलविद्युत आयोजना थपिने क्रममा रहेको छन । आगामी असारसम्म ४२ मेगावाटको मिस्त्रीखोला, २५ मेगावाटको माथिल्लो दोर्दीखोला, २० मेगावाटको तल्लोमोदी, २५ मेगावाटको सिङटीखोला, ११.८ मेगावाटको नमार्जुन मादी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र २७ मेगावाटको दोर्दीखोला आयोजना सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ ।