काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले बागमती प्रदेशमा पनि आफ्नो सञ्जाल विस्तार गर्दै कृष्ण खतिवडाको अध्यक्षतामा कार्य समिति गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित कार्यक्रममा फिने बागमती प्रदेश कमिटीको घोषणा गरिएको हो। फिनेका केन्द्रीय अध्यक्ष स्वतन्त्र प्रताप शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्विरोध रूपमा प्रदेश कार्यसमिति चयन गरिएको हो।
कार्य समितिमा अध्यक्ष खतिवडासहित वरिष्ठ उपाध्यक्ष अमिर बगाले, उपाध्यक्ष आभा बस्नेत, महासचिव अंकितराज पाण्डे, कोषाध्यक्ष धनबीर श्रेष्ठ, सहकोषाध्यक्ष देविश्री पन्त चयन भएका छन्। यस्तै, सदस्यमा श्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाई र सुदीप थापा छन्।
कार्यक्रममा मन्त्री भण्डारीले विदेशमा रहेका नेपाली उद्यमीलाई नेपालसँग जोड्ने फिनेको प्रयास अत्यन्त प्रशंसनीय भएको भन्दै धन्यवाद व्यक्त गरे। उनले सरकारबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता पनि जनाए।

फिनेका अध्यक्ष स्वतन्त्रप्रताप शाहले नेपालभित्रका सातवटै प्रदेशमा समिति विस्तार गर्ने योजनाअनुसार बाग्मती प्रदेशबाट सुरुआत गरिएको जानकारी दिए।
फिनेका उपाध्यक्ष तथा एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकालले तीन वर्षको छोटो अवधिमा फिनेले ९ वटा देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको उल्लेख गरे। ‘विदेशमा रहेका युवा उद्यमी र नेपालका युवा उद्यमीहरूबीच पुलको काम गर्न फिनेले महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने।
यस्तै, उद्यमी राजेन्द्र खेतानले फिनेले युवा उद्यमशीलता प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान गरिरहेको बताउँदै ‘क्राउड फण्ड’को अवधारणामार्फत युवा उद्यमीलाई थप प्रोत्साहन गर्न सकिने धारणा राखे।
नेपालसहित विभिन्न देशमा रहेका युवा नेपाली उद्यमीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले स्थापना भएको फिनेले अब देशभित्रै युवालाई संगठित गर्दै नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न सक्रिय भूमिका खेल्ने योजना बनाएको छ। बाग्मती प्रदेशमा समितिको गठनले यही लक्ष्यतर्फको यात्रा प्रारम्भ भएको फिनेले जनाएको छ।