काठमाडौं। निर्वाचनका कारण ७२ घन्टा सीमानाका बन्द गरिएको र इजरायल तथा अमेरिकाले इरानमाथि आक्रमण गरेपछि पेट्रोलियम अभाव हुने हल्ला चलिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीको अध्यक्षताको बैठकले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुन आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले बताएको छ। मन्त्रालयले सीमानाका बन्द भए पनि आपूर्ति पेट्रोलियम, खाद्य वस्तु अभाव हुन नदिन सरकारी निकायलाई निर्देशन दिइएको जनााएको छ।
अत्यावश्यक वस्तुको मौज्दात राख्न र वितरण प्रणाली नियमित राख्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए। चुनावको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गरिने उनको भनाइ छ।
मन्त्रालयले उपभोक्तालाई इन्धन आपूर्ति सहज बनाउन सार्वजनिक बिदामा समेत डिपो खोल्ने व्यवस्था र इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग समन्वय गरी हाल भइरहेको आयात र वितरण थप व्यवस्थित तुल्याउन निगमलाई निर्देशन दिएको छ।
मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीको अध्यक्षताको बैठकले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो।
पेट्रोलियम तथा ग्यास आपूर्ति नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न पनि मन्त्रालयले उपभोक्तालाई आग्रह गरेको छ । खाद्यान्न तथा नुनको सहज आपूर्तिका लागि खाद्य कम्पनी र साल्ट्र टे«डिङ कर्पोरेसनलाई सहज आपूर्ति व्यवस्था निरन्तरत गर्न, मातहतका गोदाममा मौज्दात विवरण संकलन तथा अद्यावधिक गर्न निर्देशन दिइएको छ।
बजारमा अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन नियमित अनुगमन प्रक्रिया प्रभावकारी बनाउन वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
यस्तै, आपूर्ति व्यवस्था सहज तुल्याउन सार्वजनिक बिदाका दिनमा समेत आयात निर्यात प्रक्रियामा सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ।
इरान आक्रमणले पेट्रोलियम आपूर्तिमा असर नपर्ने निगमले स्पष्ट पारेको छ। आईओसीले तीन महिनासम्मका लागि क्रुड आयल भण्डारण गरेको र अन्य देशबाट समेत इन्धन आयात गर्ने भएकाले अभाव नहुने निगमले विज्ञप्ति निकालेर बताएको हो।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नेपालमा पेट्रोलियम पदार्थ अभाव नहुने जानकारी दिए। आईओसीले नियमित रूपमा तेल वितरण गर्दा नेपाली बजारमा कुनै अभाव नहुने उनको भनाइ छ।
निगमसँग पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको र पाइप लाइनबाट नियमित रूपमा पेट्रोलियम पदार्थ आयात हुने भएकाले पनि युद्धको असर नेपालमा तत्काल नपर्ने भट्टले जानकारी दिए।
हाल निगमसँग १० देखि १५ दिनसम्म पुग्ने इन्धन भण्डारण छ। आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा तेल भर्नेाको लामो लाइन लागिरहेको छ।