काठमाडौं। अवैध बाटोबाट नेपाल भित्रिएको भनिएको मालकिस्ट बिस्कुट अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानका पसलमा पाउन छाडिएको छ। ज्ञानेश्वर, घट्टेखुलो, अनामनगर, बुद्धनगर, ललितपुर, कलंकीलगायत क्षेत्रका पसलहरूमा मालकिस्ट बिस्कुट उपलब्ध नभएको पाइएको छ।
क्यापिटल नेपालले ती क्षेत्रका ११ वटा पसलमा पुगेर सोधपुछ गर्दा उक्त बिस्कुट कतै पनि नपाइएको हो। क्यापिटल नेपालमा आवैध रुपमा भित्रिएको भन्दै समाचार प्रकाशित भएपछि यो बिस्कुट पाउन छोडिएको हो।
ललितपुरको बखुण्डोल क्षेत्रमा रहेका तीन पसलमा क्यापिटल टिमले मालकिस्ट बिस्कुट उपलब्ध नभएको पाइएको छ। त्यहाँका पसल सञ्चालकका अनुसार केही दिन अघिसम्म बिक्री भइरहे पनि अहिले एक सातायता बिस्कुट आपूर्ति नभएको बताएका छन्। बिस्कुट एकै जनाले १० वटासम्म खरिद गर्ने गरेको थियो। राम्रो बिक्री भइरहेको बिस्कुट आपूर्तिकर्ताले अखाद्य रहेको भन्दै सो बिस्कुट नल्याएको ती पसलेले बताए।
‘एक जनाले १० वटा लैजाने गरेका थिए,’ उनले भने, ‘पछि अखाद्य भन्दै पसलमा बिस्कुट आउनै छाड्यो।’ उनीहरूका अनुसार करिब एक सातादेखि उक्त बिस्कुट पसलमा आपूर्ति भएको छैन। त्यस्तै, कलंकीस्थित पाण्डे स्टोरका संचालकले पनि केही सातायता मालकिस्ट बिस्कुट आपूर्ति नभएको बताएका छन्।
क्यापिटलको छड्केमा मालकिस्ट खोजी गर्दा पाउन नसकिएको हो।
यस्तै, काठमाडौंको ज्ञानेश्वर क्षेत्रका दुई पसलमा पनि मालकिस्ट बिस्कुट नभएको पाइएको छ। क्यापिटलको छड्केमा मालकिस्ट खोजी गर्दा पाउन नसकिएको हो। यस्तै घट्टेखुलो क्षेत्रका पसलमा सोध्दा पनि बिस्कुट उपलब्ध नभएको पाइएको छ। काठमाडौंको अनामनगरस्थित बिगमार्टमा पनि मालकिस्ट बिस्कुट नभएको कर्मचारीले बताएका छन्। त्यसैगरी बुद्धनगरका दुई पसलमा मालकिस्ट बिस्कुट सोध्दा पनि नपाइएको बताइएको छ।
हाल बजारमा मालकिस्ट बिस्कुटको आपूर्ति रोकिएको जस्तो देखिएको छ। तर, अवैध आयात र खाद्य सुरक्षासम्बन्धी विषय सार्वजनिक भएपछि व्यापारीहरू बिक्रीमा सतर्क देखिएका छन्।
मालकिस्ट बिस्कुट आवैध रुपमा आयात भएको क्यापिटल नेपालले सरोकारवालालाई पटक-पटक जानकारी गराए पनि यो बिस्कुट आवैध रुपमा कारोबार गरी हाल पाउन छाडेको हो। अवैध च्यानलबाट नेपाल भित्रिएको मालकिस्ट बिस्कुट निरन्तर बिक्री गर्दै आएको नेपालको सबैभन्दा ठूलो ई-कमर्स प्लेटफर्म दराजले समेत आफ्नो डिजिटल प्लेटफर्ममार्फत सुटुक्क हटाएको छ।
गैरकानुनी तवरबाट भित्रिएको बिस्कुट खुलमखुला बिक्री गर्नुले नेपालको उपभोक्ता संरक्षण कानुन, खाद्य सुरक्षा मापदण्ड र व्यापार नियमनको खुलेआम उल्लघंन भएको देखाएको छ। यसबारे सरोकारवाला निकाय खाद्य प्रविधि तथा नियन्त्रण विभाग, वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग तथा भन्सार विभागलाई क्यापिटल नेपालले आवैध रुपमा आयातभएको मालकिस्ट बिस्कुटबारे पटक-पटक जानकारी गरउँदा पनि वास्ता गरिएको पाइएको छैन। यी तिन निकायले एक अर्कालाई देखाउँदै पन्छिएका छन्।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य र गुणस्तरमा उजुरी नपर्दासम्म आफूहरूले अनुगमन गर्न नमिल्ने भनेको छ भने, खाद्य प्रविधि तथा नियन्त्रण विभागले ‘मालकिस्ट’ बिस्कुट कुन च्यानलबाट भित्रिएको हो। खुल्न नसकेको जनाएको छ। यो विषय भन्सार विभागको दायारा हुने जनाएको छ।
सम्बन्धित निकायले उक्त बिस्कुट कसरी भित्रियो भन्ने विषय भने भन्सार पक्षबाटै बुझ्नुपर्ने जनाइन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता बालकुमारी शर्माले बजारमा देखिएको ‘मालकिस्ट’ बिस्कुट आयातसम्बन्धी विवरण नियामक निकायको अभिलेखमा फेला नपरेको बताएकी छन्। सम्बन्धित निकायले उक्त बिस्कुट कसरी भित्रियो भन्ने विषय भने भन्सार पक्षबाटै बुझ्नुपर्ने जनाइन। ‘हाम्रो डेटामा उक्त बिस्कुटको आयात वा अनुमतिसम्बन्धी रेकर्ड देखिएको छैन,’ शर्माले भनिन्।
उनका अनुसार विभागले सामान्यतया भन्सारमार्फत पठाइने नमुना (स्याम्पल) परीक्षण गरेर मात्र स्वीकृति दिने गर्छ। ‘भन्सारले स्याम्पल पठाएपछि हामीले परीक्षण गर्ने हो। हामी आफैं गएर स्याम्पल ल्याउने वा सामान रोक्ने काम गर्दैनौँ,’ उनले भनिन्।
उनका अनुसार, यदि कुनै खाद्य वस्तु नियमनको दायरामा आएर प्रक्रिया पूरा गर्छ भने मात्र त्यसलाई अनुमति दिइन्छ। तर, ‘मालकिस्ट’ बिस्कुटका हकमा यस्तो प्रक्रिया पूरा भएको देखिएको छैन। ‘हाम्रोमा अनुमति लिएको देखिएको छैन। तर सामान कसरी भित्रियो भन्ने विषय भने भन्सारसँग सम्बन्धित हो,’ उनले भनिन्।
यता भन्सार विभागसँग पनि मालकिस्ट बिस्कुट आयातबारे सरकारी अभिलेखमा स्पष्ट तथ्यांक नदेखिएको पाइएको छ। भन्सार विभागका एक अधिकारीसँग सम्पर्क गर्दा उनले आफू हाल बिदामा रहेको जानकारी दिएका थिए।