काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताएका छन्। यद्यपि, पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन्।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजी गरिरहेको बेला उनले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गरेका हुन्।
तर, पुटिनले अधिक संयमित स्वर अपनाएका थिए। उनले सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिए।
ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँगको सम्बन्ध सुल्झाएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा ‘हामीबिना’ कुनै पनि निर्णय नगर्न आग्रह गरे।
पुटिनले सम्झौता गर्न अस्वीकार गरेकामा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राखेका थिए।
‘मलाई विश्वास छ, यो कुराकानी धेरै राम्रो भयो,’ सोमबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने, ‘रुस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण रूपमा युद्धको अन्त्यका लागि वार्ता सुरु गर्ने छन्।’
पछि ट्रम्पले पुटिन युद्ध विरामका लागि तयार रहेको आफूले सोचेको बताए। ‘मलाई लाग्छ उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ,’ उनले भने, ‘यदि, राष्ट्रपति पुटिन यसलाई समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथेँ।”