काठमाडौं। युरोपेली संघ (इयु)का विदेश नीति प्रमुख काजा कालासले मंगलबार मस्कोले युक्रेनमा युद्ध विराममा सहमत नभए रूसविरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई आग्रह गरे।
‘अमेरिकाले भनेको थियो कि यदि रूस बिना शर्त युद्ध विराममा सहमत भएन भने त्यसका परिणाम हुने छन्, त्यसैले हामी ती परिणाम, अमेरिकी पक्षबाट पनि देख्न चाहन्छौँ,’ कालासले ब्रसेल्समा इयुका मन्त्रीहरूको बैठकमा भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले ‘तुरुन्तै’ शान्ति वार्ता सुरु गर्ने बताए।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले दुई नेताबीचको कुराकानीले पुटिनलाई ‘साँच्चै शान्तिमा चासो नभएको’ देखाएको दाबी गरे।
जर्मन चान्सलर फ्रेडरिक मेर्जले सोमबार ट्रम्प र युरोपेली नेताहरूबीचको छुट्टै फोनवार्तापछि इयुले थप प्रतिबन्धमार्फत मस्कोमाथि ‘दबाब बढाउने’ बताएका थिए।
मुख्यतया रुसले तेल निर्यातमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्न प्रयोग गर्ने ‘छाया फ्लीट’लाई लक्षित गर्दै युक्रेनमा गरेको आक्रमणलाई लिएर इयुले मंगलबार मस्कोमाथि १७औँ चरणको प्रतिबन्ध औपचारिक रूपमा अपनाउने छ।
प्रतिबन्धको थप प्याकेज पहिले टेबलमा राखिएको छ। तर, इयुसँग क्रेमलिनमाथि ठूलो चोट पुर्याउने सीमित मार्गहरू भएको आशंका छ।