काठमाडौं। विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पेविलियनको औपचारिक उद्घाटन भएको छ। यसले नेपालको फिनटेक र डिजिटल नवप्रवर्तन यात्रामा ऐतिहासिक मोड ल्याएको फिनटेक एलायन्स नेपाल (फ्यान) ले जनाएको छ।
फ्यानको नेतृत्वमा सुरु गरिएको यो नवीन पहलले ९ वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीलाई एउटै राष्ट्रिय ब्यानरअन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ। तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर छेत्री तथा विश्वभरका प्रमुख सीईओ, सीएक्स्ओ र फिन्टेक अधिकारी उपस्थित थिए।
सिमलेस आयोजक समितिसँगको समन्वयमार्फत फ्यानले दुबई वर्ल्ड ट्रेड सेन्टरको हल ८, एच८एफ २० पेविलियन राखेको थियो, जसले अन्तर्राष्ट्रिय फिन्टेक मञ्चमा नेपाललाई अहिलेसम्मकै सबैभन्दा दृश्यात्मक उपस्थिति दिएको छ।
यो पेविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारी प्रवर्द्धन गर्न र विश्वव्यापी फिgन्टेक खेलाडीलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसर अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको हो।
फ्यान अध्यक्ष तथा सिटीटेक ग्लोबलका सीइओ साजन शर्माले भने, ‘यो केवल एउटा साधारण स्टल मात्र नभई हाम्रो क्षमता र सम्भावनाको स्पष्ट सन्देश हो। मैले धेरै वर्षदेखि सिमलेसमा सहभागिता जनाउँदै आएको छु। विश्व फिनटेक क्षेत्रको रूपान्तरणलाई नजिकबाट अवलोकन गरेको छु।’
नेपाल पेविलियनमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटीटेक, आइएमई, एनएमबी बैंक, ल्याम्डा पेमेन्ट्स, माइक्रोब्यांकर, नेपाल, प्रोग्रामिज, आइमार्क प्रालि, रारा ल्याब्स सहभागी भएका छन्।
२९ सदस्य कम्पनीसहित फिनटेक एलायन्स नेपालले फिनटेक र फिनटेक सोसियलजस्ता इकोसिस्टम निर्माण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। फ्यानले यो पहिलो अन्तर्राष्ट्रिय सहभागितालाई निर्णायक र प्रेरणादायी सुरुवातको रूपमा लिएको छ।