काठमाडौं। चिनियाँ अटो निर्माता कम्पनी जिलीले ‘स्टारशाइन ७’ मोडलको प्रि–सेल्स सुरु गरेको छ। जिलीको सब–ब्रान्ड ग्यालेक्सीले प्लग–इन हाइब्रिड ‘स्टारशाइन ७’ मोडलको प्रि–सेल्स सुरु गरेको हो।
कम्पनीले प्लग–इन हाइब्रिड इलेक्ट्रिक भेहिकल सेग्मेन्टमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै ‘स्टारसाइन ७’ मोडलको प्रि–सेल्स सुरु गरेको छ।
मिड–साइज हाइब्रिड सेडानको रूपमा प्रस्तुत गरिएको स्टारशाइन ७ को मूल्य १ लाख १२ हजार ८०० युआन (करिब १६ हजार ५३० अमेरिकी डलर) तोकिएको छ। यसको टप–ट्रिम फोर–ह्वील ड्राइभ भर्सनको मूल्य १ लाख ४२ हजार ८०० युआन निर्धारण गरिएको छ।
गाडीको लम्बाइ ४९५८ एमएम, चौडाइ १९१५ एमएम र उचाइ १५०५ एमएम रहेको छ। यसको ह्विलबेस २८५२ एमएम छ।
स्टारशाइन ७ मा जिलीको नयाँ पुस्ताको ‘थोर हाइब्रिड सिस्टम’ जडान गरिएको छ, जसमा १.५ लिटर पेट्रोल इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनको अधिकतम पावर आउटपुट ८२ किलोवाट रहेको छ भने समग्र पावरट्रेनले ३१२ किलोवाट पावर र ५२६ एनएम टर्क उत्पादन गर्छ।
गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति मात्र ५.४ सेकेन्डमै हासिल गर्न सक्छ। साथै, इन्जिनको थर्मल एफिसियन्सी ४७.२६ प्रतिशत रहेको कम्पनीले जनाएको छ, जसले कम ब्याट्री अवस्थामा पनि करिब २ लिटर बराबरको इन्धन खपत कायम गरी यात्रा लागत घटाउन मद्दत गर्छ।
स्मार्ट फिचरअन्तर्गत गाडीमा जिली अफारी ड्राइभिङ सिस्टम उपलब्ध छ, जसले हाईवे तथा एलिभेटेड सडकमा नेभिगेसन–आधारित सहायक ड्राइभिङ सुविधा प्रदान गर्छ।
यसअघि सार्वजनिक गरिएको स्टारसाइन ६ भन्दा केही महँगो मोडलका रूपमा आएको स्टारशाइन ७, जिलीका पीएचईभी गाडीप्रति बढ्दो मागको बीच बजारमा ल्याइएको हो।
कम्पनीका अनुसार गत मार्च महिनामा जिलीको पिएचईभी बिक्री वार्षिक रूपमा ७० प्रतिशतले बढेर ५६ हजार ७६२ युनिट पुगेको छ। यद्यपि, सोही अवधिमा ब्याट्री इलेक्ट्रिक भेहिकल बिक्री १८ प्रतिशतले घटेर ७० हजार ५५७ युनिटमा सीमित भएको छ।