काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर प्रतिष्ठित ज्ञानकुञ्जका रुपमा रहेको अमेरिकाको सबैभन्दा पुरानो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई भर्ना नलिन आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चचार माध्यमले जनाएका छन्।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना गर्ने योग्यतासमेत रद्द गरेको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले गृह सुरक्षा विभागलाई हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी हुन्।
नोएमले एक्समा पोस्ट गर्दै हार्वर्ड प्रशासनले विद्यमान कानुन पालना गर्न असफल भएको आरोप लगाएकी छन्। ‘यो देशभरिका सबै विश्वविद्यालय र शैक्षिक संस्थानका लागि चेतावनी हो’, उनले भनेकी छन्।
हार्वर्ड विश्वविद्यालयले भने ट्रम्प प्रशासनको निर्णयलाई गैरकानुनी भनेको छ। ‘हामी १४० बढी देशबाट आएका हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वान्लाई आतिथ्य दिन पूर्ण रूपमा प्रतिबद्ध छौं, जसले यो विश्वविद्यालय र अमेरिकालाई अतुलनीय रूपमा समृद्ध बनाउन योगदान दिएका छन्’, विश्वविद्यालयले भनेको छ।
ट्रम्प प्रशासनको निर्णयले यो विश्वविद्यालयमा पढ्ने हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रभावित गर्न सक्ने बताइन्छ। सरकारी निर्णयले हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर बनाएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा हार्वर्डमा साढे ६ हजार बढी विदेशी विद्यार्थी भर्ना भएका छन्। ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहुदी विरोधी र कम्युनिस्टलाई प्रश्रय दिइको आरोप लगाउँदै सरकारी अनुदानको अर्बौं डलर फ्रिज गर्ने धम्की दिएको छ।
सूचनामा हार्वर्डलाई ७२ घन्टाभित्र आदेश कार्यान्वयन गर्न भनिएको छ।–एजेन्सी