काठमाडौं। डिजिटल भुक्तानी सेवाप्रदायक ईसेवामा सोमबार दिउँसो देखिएको समस्या प्राविधिक रहेको कम्पनीले जनाएको छ। मोबाइल एप तथा वेबसाइटमार्फत कारोबार गर्दा लगइन समस्या र सेवा अवरुद्ध भएपछि सामाजिक सञ्जालमा यसबारे व्यापक चर्चा, टिप्पणी र आलोचना भएको थियो।
धेरै प्रयोगकर्ताले ईसेवा ह्याक भएको वा यसको सुरक्षा प्रणाली कमजोर भएको भन्दै विभिन्न शंकास्पद तथा भ्रामक सूचना सामाजिक सञ्जालमा सेयर गरे। तर, यो समस्या ह्याक वा सुरक्षा कमजोरीका कारण नभई सिस्टम अपग्रेडको क्रममा उत्पन्न भएको सामान्य प्राविधिक अवरोध भएको ईसेवाका प्राविधिक टोलीले स्पष्ट पारेका छन्।
ईसेवाका अनुसार कम्पनीले हाल प्रयोग गर्दै आएको परम्परागत डाटाबेस प्रणालीको सीमितता महसुस गर्दै केही समय अघिदेखि प्रणाली अपग्रेड कार्य थालेको थियो। त्यसक्रममा ईसेवाले विश्वविख्यात र विश्वसनीय क्लाउड बेस्ड प्रणाली ओराकल प्रयोग थालेको जनाएको छ। यो प्रणाली अमेजन वेब सर्भिस, लिंकेडइन, जेपी मोर्गान, नेटफ्लिक्स, एडबलगगायतका ठूला कम्पनीले प्रयोग गर्दै आएको सिस्टम हो।

एकभन्दा बढी सर्भर साइटबाट सञ्चालन हुने र उच्च मात्रामा डेटा प्रोसेस गर्ने क्षमता भएको यस प्रणालीलाई सुरक्षित, द्रुत र भरपर्दो मानिन्छ। सिस्टम अपग्रेडका क्रममा स्रोतहरूको अत्यधिक प्रयोग हुँदा केही समयका लागि समस्या देखिएको कम्पनीले जानकारी दिएको छ।
ईसेवाका प्रमुख रणनीतिक अधिकृत रवि शाक्यले भने, ‘भविष्यमा हुन सक्ने डेटा लोड तथा सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै यो अपग्रेड गरिएको हो। अहिले देखिएको समस्या स्थायी नभई अस्थायी प्राविधिक बाधा मात्र हो।’ उनले प्रयोगकर्तालाई अफवाहमा विश्वास नगर्न आग्रह गर्दै भविष्यमा यस्ता समस्या नदोहोरिन सतर्कता अपनाइने बताएका छन्।