काठमाडाैं। देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसामा छलाङ मारेका हुन्।
खर्ज्याङको ४५ रोपनी जग्गामा उनले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी लगाएका छन्।
खुकुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो।
२०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गर्नुभएका भण्डारीले गत मात्रै रु सात लाखको काँक्रा बिक्री गरे। सुरूआती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन्।
“गतवर्ष दुई हजार बोटमा फलेका काँक्राबाट रु सात लाख आम्दानी भयो,” उनले भने, “यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ।” दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म रहेको थियो।
तर गत वर्ष मूल्य बढेर एक सय ४० सम्म पुग्यो। जसले गर्दा उहाँको आम्दानी पनि बढेको छ। गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताए। यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन्। गत मंसिर ३० गते रोपेका काँक्रा चैत १० बाट बिक्री सुरू भएका थिए।
अहिलेको सिजनमा मात्रै उाले तीन सय क्विन्टल काँक्रा बिक्री गरिसकेका छन्। अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दसैँ–तिहारको समयमा अचारको लागि बिक्री गर्ने उनले बताए।