काठमाडौं । चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा झन्डै ६ अर्बको बिजुली आयात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि पुसमसान्तसम्म ५ अर्ब ७४ करोड ३४ लाख २१ हजार बराबरको बिजुली भारतबाट आयात भएको हो । यो अवधिमा भारतबाट १ अर्ब १४ करोड ५५ लाख युनिट बिजुली आयात भएको प्राधिकरणले जनाएको छ ।
गतवर्षको तुलनामा चालू आवमा भारत आयातित बिजुलीको मात्रा ५० प्रतिशतभन्दा बढी घटेको छ । गत आर्थिक बर्ष २०७५÷०७६ मा भारतबाट झन्डै २२ अर्बको बिजुली आयात भएको थियो । गत वर्ष पहिलो ६ महिनामा झन्डै १३ अर्बको विद्युत् आयात भएको थियो ।
प्राधिकरणका अनुसार दैनिक साढे ३ सय मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । भारतले विहार, उत्तरप्रदेश राज्यका साथै एनभीभीएन विद्युत् व्यापार निगम, पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बाट बिजुली आयात गर्ने गरेको छ । गतवर्ष प्राधिकरणले भारतमा ४० करोड रुपैयाँबराबरको बिजुली निर्यात समेत गरेको थियो ।
सुख्खायाममा नदी बहाव घट्ने तर, विद्युत् माग उच्च हुने कारण भारतबाट विद्युत् आयात गर्नुपरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ‘चालू आवको ६ महिना झन्डै ६ अर्ब बिजुली आयात भएको छ । अहिले गतवर्षभन्दा विद्युत् आयातमा केही कटौती हुने देखिएको छ’ उनले भने, ‘यो वर्ष पनि २४५ मेगावाटसम्म निर्यात पनि गर्छौ।’
सरकारले यो वर्षदेखि विद्युत् निर्यात गर्ने योजना बनाएको थियो । तर, ४५६ मेगावाटको माथिल्लो तामाकोशीलगायतका जलविद्युत् आयोजना सम्पन्न नहुने भएपछि त्यो लक्ष्य तत्काल पुरा नहुने देखिएको छ ।
पछिल्लो पटक चीनको वुहानबाट फैलिएको नोबेल कोरोना(कोभीड–१९) कोरोना भाइरस असर निर्माणधीन जलविद्युत् आयोजना निर्माणमा पनि परेको छ । व्यवसायिक उत्पादन मिति घोषणा गरेका दुइ दर्जनभन्दा बढि नीजि क्षेत्रका जलविद्युत् आयोजना कोरोनाकै असरले थला परेका छन् । सरकारले चालू आवमा १ हजार ४ मेगावाट विद्युत् ग्रीडमा थप्ने लक्ष्य लिएको थियो ।