काठमाडौं। बिहीबार राती नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोसी प्रदेशमा फैलिएको २४ घन्टा नबित्दै नेपालका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ। नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरु भएको हाे।
नेपालमा मनसुन भित्रिने सरदरभन्दा १५ दिनअगावै बिहीबार रातीदेखि मनसुन भित्रिएको थियो।
आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडक खण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।
सोही कारण कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। यसले धनकुटा हुँदै जाने भोजपुर, संखुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ। आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताए। उनका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन। स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ।

पछिल्लो १२ घन्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जनाएको छ। पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत बताएको हो।
पछिल्लो १२ घन्टामा कोसीको झापा, इलाम, मोरङ र सुनसरीमा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीका साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि बढ्दो हुने देखिएको जनाइएको छ। त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापन कार्य भइरहेको बताए।