काठमाडौं। पर्यटन क्षेत्रका लागि उच्च आशाबिच सुरु भएको २०८२ आशातीत हुन सकेन। कोभिड १९ को प्रभाव अन्त्य भएसँगै विश्व बजारमै पर्यटन क्षेत्रमा चलायमान भैरहेको बेला नेपालको पर्यटन क्षेत्र पनि २०८२ मा धेरै राम्रो हुने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका थिए।
नेपाल पर्यटन बोर्डले पनि २०८१ को तुलनामा २०८२ राम्रो हुने आंकलन गरिरहेको बेला संख्यात्मक रूपमा पनि विगतभन्दा राम्रो हुन सकेन। लामो समयदेखि नेपालमा महँगा पर्यटकहरू अर्थात् लक्जरी पर्यटक भित्र्याउँदै आएको कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय अमात्यले आशा गरेजस्तो नभएको बताए। २०८२ मा पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने आशा र अपेक्षा गरे पनि त्यो अनुसारको नहुँदा निराशामा बितेको उनको भनाइ छ।
२०८२ सुरुवातमा केही राम्रो भए पनि बाढी पहिरोको असर र जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा झनै नकारात्मक सन्देश गएको होटल एसोसिएन अफ नेपाल९हान०का कोषाध्यक्ष युवराज श्रेष्ठको भनाइ छ। जेनजी आन्दोलनपछि विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गर्दा बुक भएका अधिकांश पर्यटकहरूले रद्ध गर्दा झनै समस्या उत्पन्न भएको उनले बताए।
जेनजी आन्दोलनपछि बिस्तारै लय समात्न लागेको पर्यटनले फेरि मध्यपूर्वमा देखिएको तनावले ठुलो समस्या ल्याएको छ। मध्यपूर्वबाट नेपाल आउने जहाजहरू लामो समयसम्म नआएको र द्धन्दको कारण कतिपय पर्यटकहरूले बुकगरेका होटलहरु अन्तिम समयमा रद्ध गर्दा समग्र पर्यटन क्षेत्रमै ठुलो असर देखा परेको बताए।
प्राकृतिक विपत्ति मात्र हैन नेपालको आफ्नै कारणले पनि पर्यटन क्षेत्रमा समस्या उत्पन्न भएको देखिन्छ। एक्कासि भएको जेनजी आन्दोलन र पर्यटकीय सिजनकै बेला प्रतिनिधि सभाको निर्वाचन हुँदा आन्तरिक एवं बाह्य पर्यटनमा असर पुगेको व्यवसायीहरूको भनाइ छ।
यती एयरलाइन्सका अकाउन्टेबल म्यानेजर युवराज विष्टले विगतको वर्षको तुलनामा २०८२ एयरलाइन्स क्षेत्रका लागि सुखद नभएको बत्ताउँछन्। आन्तरिक पर्यटकहरूको संख्यामा वर्षको सुरुवातमा केही बढे पनि वर्षको अन्तिममा आएर इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव नराम्रोसँग परेको उनको भनाइ छ। ‘विदेशी पर्यटकहरू पर्याप्त मात्रामा नआएको र आन्तरिकमा पनि इन्धनको मूल्य बढ्दा सञ्चालन खर्च समेत धान्न मुस्किल भैरहेको छ,’ अकाउन्टेबल म्यानेजर विष्टले भने, ‘समग्रमा २०८२ सोचेजस्तो भएन।’
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले २०८२ समग्रमा पर्यटन क्षेत्रका लागि उत्साहजनक हुन नसकेको बताए। आन्तरिक रूपमा सरकारको तयारी जेजस्तो भए पनि आशा गरे जस्तो पर्यटकहरूको आगमन हुन नसकेको बताउँदै सरकारले साताको दुई दिने विदाले भने आगामी दिन आन्तरिक पर्यटकहरूको चहलपहल बढ्ने विश्वास उनले लिएका छन्। पछिल्लो समय पोखरा लगायतका क्षेत्रमा भारतबाट धेरै पर्यटकहरू आफ्नै गाडीमा आउने क्रम भने बढेको बताउँदै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।