काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो।
नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको छ। नेपालको जितमा आरिफले महत्त्वपूर्ण अर्धशतक बनाए। उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए।
यसैगरी नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा ‘नट आउट’ ३८ रन बनाए। पाँचौं विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्त्वपूर्ण साझेदारी गरे।
ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे। कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले २२ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाए। भीम सार्की २६ बलमा एक चौकाको सहयोगमा ११ रनमा आउट भए।
नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक÷एक विकेट लिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो।
नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए। यसैगरी कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे। विक्रमजित सिंहलाई ३८ रन बनाए। ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए।
यो जितसँगै नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौँ स्थानमा छ। पराजित नेदरल्यान्ड २१ खेलमा २६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा यथावत् छ।