काठमाडौं। वाणिज्य बैंकहरूले आगामी वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूले ब्याजदर घटाउने नीति लिएका छन्। केहीले स्थिर राखेका छन्।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये अधिकांशले चैत महिनाको तुलनामा वैशाखमा ब्याजदर घटाएर ब्याजदर सार्वजनिक गरेका छन्। वैशाखका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन्। १० वटा बैंकले चैत महिनाकै दरलाई यथावत राखेका छन्।
ब्याजदर बढाउनेमा भने कृषि विकास बैंक मात्रै रहेको छ। कृषि विकास बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ।
ब्याजदर घटाउने बैंकहरूको सूचीमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। यी बैंकहरूमध्ये हिमालयन बैंकले सबैभन्दा आक्रामक रूपमा ब्याज घटाएको छ। हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.५० प्रतिशत विन्दु र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर कम गरेको छ।
त्यस्तै, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको अधिकतम ब्याजदरमा ०.२५ प्रतिशत विन्दुको कटौती गरेका छन्। नबिल बैंकको रणनीति भने अलि फरक देखिएको छ; उसले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदरमा कुनै परिवर्तन नगरे पनि संस्थागत निक्षेपको ब्याजदरमा भने ०.५४ प्रतिशत विन्दुले ब्याजदरमा कटौती गरेको छ।
ब्याजदर स्थिर राख्ने बैंकहरूको संख्या पनि उल्लेख्य छ। प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंकले वैशाख महिनाका लागि पुरानै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन्।
व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाउने अन्य बैंकहरूमा सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५ प्रतिशत र एभरेष्ट बैंकले ०.२० प्रतिशत विन्दुले दर घटाएका छन्। कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने निकै कम अर्थात् क्रमशः ०.०७ र ०.०१ प्रतिशत विन्दुले मात्र ब्याजदर घटाएका छन्।
बैंकहरूले यसरी ब्याजदर घटाउँदा बैंकमा पैसा राख्ने निक्षेपकर्ताहरूको आम्दानीमा केही कमी आए पनि यसले कालान्तरमा बैंकहरूको आधार दर घटाउन मद्दत पुग्ने देखिन्छ। आधार दर घट्दा बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर पनि सस्तो हुन जान्छ। जसले उद्यमी र व्यवसायीहरूलाई कम लागतमा ऋण प्राप्त गर्न सहज बनाउँछ।