काठमाडौं । वर्ष २०८२ नेपालको आर्थिक इतिहासमा एउटा विचित्र अन्तर्विरोधको वर्षका रूपमा दर्ज हुनेछ। एकातर्फ विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स आप्रवाह ऐतिहासिक उचाइमा पुग्यो, अर्कोतर्फ जेनजी आन्दोलनले निजी क्षेत्रको ढाड भाँच्यो। मध्यपूर्वको युद्धको आँचले रेमिट्यान्स भविष्यमाथि प्रश्नचिह्न खडा गर्यो, र लगानीकर्ताको आत्मविश्वास इतिहासकै न्यून विन्दुमा झर्यो। बाह्य सूचकहरूले उत्साहजनक संकेत दिँदा आन्तरिक सूचकहरू भने थलिँदै गए।
आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत पुगेको अनुमान छ। जुन अघिल्लो वर्षको ३.६७ प्रतिशतभन्दा उल्लेख्य माथि हो। त्यसको ठीक उल्टो, चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ। विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान 'नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६' मा यस्तो बताएको हो। विश्व बैंकका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व र भदौको आन्तरिक आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धि दर मध्यम रहने प्रक्षेपण गरिएको हो।
राष्ट्र बैंकले केही आशावादी अनुमान गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा आर्थिक वृद्धि ३.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। वृद्धि दर बढ्दा पनि यो स्तर पर्याप्त रोजगारी सिर्जना गर्न सक्ने खालको छैन। परिवार स्तरमा हेर्दा रोजगारी अभावले युवाहरू अझै वैदेशिक रोजगारमा निर्भर छन्। व्यवसायिक गतिविधिसमेत सुस्त रहेको छ।
जेनजी आन्दोलन : निजी क्षेत्रको ढाड भाँचिएको घटना
वर्ष २०८२ को सबैभन्दा विनाशकारी आर्थिक घटना भनेकै भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हो। भदौ २३ र २४ गते सडकमा विस्फोट भएको युवा असन्तुष्टि केवल सरकार परिवर्तनमा सीमित रहेन। यसले पुराना राजनीतिक शक्तिहरूको वैचारिक धरातल, सुरक्षा संयन्त्रको तयारी र राज्य संरचनाको सहनशीलतालाई एकै पटक झस्काइदियो।
सरकारी कार्यदलको प्रतिवेदनअनुसार निजी प्रतिष्ठानहरूले २७ अर्ब ४९ करोड रुपैयाँको क्षति व्यहोरेका छन्।
आर्थिक क्षतिको हिसाबमा यो आन्दोलन भयावह साबित भयो। आन्दोलनका क्रममा निजी र सार्वजनिक गरी करिब ८४ अर्ब ४५ करोडको क्षति हुन पुगेकाे छ। त्यसमध्ये निजी क्षेत्रको मात्रै करिब ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँको क्षति छ।
सरकारी कार्यदलको प्रतिवेदनअनुसार निजी प्रतिष्ठानहरूले २७ अर्ब ४९ करोड रुपैयाँको क्षति व्यहोरेका छन्। क्षेत्रले व्यहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ, त्यसपछि अन्य भौतिक सम्पत्तिको क्षति २७.४ प्रतिशत रहेको छ।
सञ्चार क्षेत्र पनि यो विध्वंसबाट मुक्त भएन। भदौ २३ र २४ गतेको आन्दोलनमा १९ वटा सञ्चार संस्थाले ५९ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति बेहोरेका छन् भने ३८ जनाको व्यक्तिगत सम्पत्ति नष्ट भयो। दुई दिनको गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पुर्याउनुका साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पुर्यायो। अर्बौं रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृङ्खलाको विच्छेद र लाखौँ नेपालीको रोजगारी गुम्ने अवस्था देखियो।
निजी क्षेत्रको विश्वास संकट : ऋण लिन कोही तयार छैन
बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ, ब्याजदर पनि ऐतिहासिक रूपमा न्यून स्तरमा झरेको छ। तर, ऋण लिन इच्छुक लगानीकर्ता कम छन्। यसको मूल कारण 'विश्वासको संकट' हो। जब लगानीकर्ताले नीतिगत स्थायित्व, कानुनी सुरक्षा र कार्यान्वयनमा विश्वसनीयता देख्दैन, तब उसले जोखिम लिन चाहँदैन।
सामान्यतया ब्याजदर घट्दा कर्जाको माग बढ्नुपर्ने र आर्थिक गतिविधि चलायमान हुनुपर्ने हो। तर नेपालको सन्दर्भमा यो सिद्धान्तले काम गरिरहेको छैन। न्यून ब्याजदरको अवस्थामा पनि उद्यमीहरू कर्जा लिन हिचकिचाउनुले अर्थतन्त्रमा विद्यमान 'आत्मविश्वासको संकट'को संकेत गर्छ।
देशको रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व सङ्कलनमा निजी क्षेत्रको योगदान अग्रणी रहे पनि नीतिगत अस्थिरता, प्रक्रियागत झन्झट र वित्तीय पहुँचको अभावले व्यवसायीहरू मारमा परेको देखिएको छ।
बाह्य सूचकहरू : विदेशी सञ्चिति र रेमिट्यान्समा उत्साहजनक तथ्यांक
बाह्य क्षेत्रमा भने सुखद् तस्वीर देखियो। नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढ्दै ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ। चालू आर्थिक वर्षको असार मसान्तको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २७.५ प्रतिशतले वृद्धि भएको छ। २०८२ असार मसान्तमा अमेरिकी डलरमा १९ अर्ब ५० करोड रहेको सञ्चिति फागुन मसान्तमा १८.३ प्रतिशतले बढेर २३ अर्ब ८ करोड डलर पुगेको छ।
मौसमको प्रतिकूलताका कारण कृषि उत्पादन प्रभावित भएको र आर्थिक वृद्धि दर लक्ष्यभन्दा कम हुने अनुमान छ।
रेमिट्यान्सको आप्रवाह पनि उत्साहजनक रहेको छ।समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई रु.१४४९ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो। २०८२ फागुन महिनामा विप्रेषण आप्रवाह रु.१८८ अर्ब ६४ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१५१ अर्ब १९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो।
आन्तरिक सूचकहरू : पुँजीगत खर्च निराशाजनक
सरकारको खर्च क्षमतामा यो वर्ष पनि पुरानै रोग देखियो। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सरकारले विकास निर्माणका लागि विनियोजन गरेको बजेटको २२ प्रतिशत मात्रै खर्च गरेको छ। पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएकोमा चैत २७ गतेसम्म जम्मा ९९ अर्ब मात्रै खर्च भएको छ।
मौसमको प्रतिकूलताका कारण कृषि उत्पादन प्रभावित भएको र आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम हुने अनुमान छ।
विश्व बजारको आँच : मध्यपूर्व युद्धले नेपाललाई चिन्ता
अन्तर्राष्ट्रिय मुद्रा कोषले युद्धका कारण विश्व आर्थिक वृद्धिदर घट्ने चेतावनी दिएको छ। आपूर्ति शृङ्खला अवरुद्ध हुँदा ऊर्जा र खाद्य मूल्य बढ्ने र करोडौँ मानिस खाद्य सङ्कटमा पर्ने सम्भावना रहेको बताइएको छ। खाडी मुलुकबाट हुने रेमिट्यान्सको आयमा कमी आउने हो भने नेपालको अर्थतन्त्रले दोहोरो धक्का सामना गर्नुपर्ने प्रारम्भिक संकेत देखिन थालेका छन्। तेल र पेट्रोलियम उत्पादनमा अस्थिरता, मुद्रास्फीति, ब्याजदरमा उतारचढाव र शेयर बजारमा अनिश्चितता जारी रहन सक्ने विशेषज्ञहरूको चेतावनी छ।
वर्ष २०८२ नेपालको अर्थतन्त्रका लागि मिश्रित परिणामको वर्ष बन्यो। विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक वृद्धि र रेमिट्यान्सको उच्च प्रवाह नेपालको बाह्य क्षेत्रका उजेला पक्ष हुन्। तर जेनजी आन्दोलनले निजी क्षेत्रमा पुर्याएको भौतिक र मनोवैज्ञानिक क्षति, न्यून पुँजीगत खर्च, लगानीकर्ताको घट्दो आत्मविश्वास र मध्यपूर्व युद्धको दीर्घकालीन असरले नेपालको अर्थतन्त्रको यात्रा अझै कठिन रहने संकेत दिन्छ।
'विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भौतिक वा आर्थिक क्षति समय क्रममा पुनरुत्थान हुँदै जानेछ, तर यसबाट व्यवसायीमा परेको आघात भने अमिट छ,'- यो भनाइले नै यो वर्षको आर्थिक यात्राको सारांश बोलिदिन्छ।