काठमाडौं। काठमाडौं महानगरभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्यांक हेर्न महानगरले ‘काठमाडौं महानगर वायु गुणस्तर निगरानी ड्यास बोर्ड’ सार्वजनिक गरेको छ।
विश्व वातावरण दिवस अवसर पारेर बिहीबार ड्यास बोर्ड सार्वजनिक गरिएको हो। ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पीएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकांकको विवरणलाई वास्तविक समयमा हेर्न सकिने महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सीता राईले जानकारी दिइन्।
‘यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ। कामपाले स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्त्वपूर्ण प्रयास हो’, प्रमुख राईले भने।
वायु गुणस्तरको अवस्थालाई विभिन्न ६ वटा रङले अवस्था संकेत गरिएको छ। यसमा हरियो रङ राम्रो अवस्थाको संकेत हो। पहेँलो रङ मध्यम, सुन्तला रङ बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका, मुटुरोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो।
रातो रङले अस्वस्थ्य अवस्थाको संकेत गर्छ। यो सबैका लागि अस्वस्थ्य अवस्था हो। खासगरी संवेदनशील वर्गका व्यक्ति यसबाट जोगिनुपर्छ।
वैजनी रङले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुन सक्ने संकेत गरिएको छ। यस्तै गाढा खैरो रङ जोखिमपूर्ण अवस्था हो। यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुन सक्छ। खासगरी पहिले नै समस्या भएकाका लागि बढी असर हुन सक्छ।
कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी भन्छन्, ‘ड्यास बोर्डबाट प्राप्त हुने तथ्यांकले सहरी जनस्वास्थ्य समस्या समाधानका लागि नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्न आधार दिनेछ।’
वायु गुणस्तर सूचकांकलाई रङ संकेत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड राखिनेछ। वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ बोर्डमा छ। यसबाट सवारी साधन प्रदूषण जाँचको प्रगति विवरण हेर्न सकिन्छ।
क्षेत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदूषण मापनयन्त्र जडान गरिएका छन्।