काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रका दुई ठूला महाशक्ति अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता आगामी सोमबार बेलायतको लन्डनमा हुने घोषणा सार्वजनिक गरेका छन्। ट्रम्पले सामाजिक सन्जाल एक्समार्फत लन्डनमा दुई मुलुकबीच व्यापार सम्झौताबारे वार्ता हुने जानकारी गराएका हुन्।
व्यापार वार्ताबारे आफ्नो सामाजिक सन्जालमार्फत दिइएको जानकारीअनुसार अमेरिका अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिरले जुन ९ मा लन्डनमा चिनियाँ प्रतिनिधिसँग भेटवार्ता गर्नेछन्।
दुई महिनाअघि ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले प्रतिकारस्वरुप अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको कर लगाएको थियो। सोही कारण दुई मुलुकबीचको वार्षिक ६०० अर्ब डलरको व्यापार बन्द अवस्थामा पुग्ने चिन्ता थियो।
अमेरिका–चीनबीचको आयात कर वृद्धिले दुई मुलुकबीच व्यापार युद्धको त्रास फैलिए पनि गत वैशाख २९ मा स्वीटजरल्यान्डको जेनेभामा दुई देशका अधिकारी सम्मिलित वार्तापछि एकाअर्काविरुद्ध लगाइएको आयात कर घटाउने सहमति भएको थियो।
जेनेभा वार्तापछि अमेरिकाले चीनबाट आयात हुने सामानमा लाग्ने कर १४५ प्रतिशतबाट ३० प्रतिशत र चीनले अमेरिकी सामानमा लगाइएको भन्सार महसुस १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमत भएका थिए। दुवै देशबीच एकअर्कामाथि लगाइएको कर ९० दिनका लागि स्थगन गर्ने सहमतिसमेत जेनेभा वार्ताले गरेको थियो।
अहिले त्यही सम्झौता कार्यान्वयका विषयमा दुई देशबीच छलफल हुन लागेको हो। लन्डन वार्ताको मिति घोषणाअघि शुक्रबार राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सी जिनफिङबीच फोन कुराकानी भएको थियो। एक घण्टाजति भएको फोन कुराकानीपछि ट्रम्पले आफूलाई चीन भ्रमणको निम्ता प्राप्त भएको र आफूले पनि सीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेको बताएका थिए।
१४५ प्रतिशतसम्म थप आयात कर लगाएपछि व्यापार युद्धको नजिक पुगेका विश्व महाशक्ति अमेरिका र चीनबीचको जेनेभा वार्ता सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए। स्वीट्जरल्यान्डको जेनेभामा भएको दुई दिने वार्तापछि अमेरिका र चीन आयात कर विवाद समाधान गर्ने दिशाामा सहमति नजिक पुगेका हुन्।
यद्यपि ह्वाइट हाउसले मे ११ मा विज्ञप्ति निकालेर चीनसँग व्यापार सम्झौता भएको घोषणा गरे पनि विवरण भने दिएको छैन। चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले आज जेनेभामा संयुक्त वक्तव्य जारी गरिने बताएका थिए।
चिनियाँ उपवाणिज्यमन्त्री ली चेङगाङले अमेरिका–चीनबीचको वार्ता विश्व अर्थतन्त्रका लागि खुसीको खबर हुने प्रतिक्रिया दिएका थिए।
जेनेभा वार्तामा सहभागी अमेरिकी अधिकारीले दुई मुलुकबीचको सम्झौताले व्यापार घाटा कम गर्ने बताएका छन् भने चिनियाँ पक्षले महत्त्वपूर्ण सहमति भएको र नयाँ आर्थिक वार्ता सुरु गर्ने बाटो खुलेको प्रतिक्रिया दिएको छ।
गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए। त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको कर लगाएको थियो। सोही कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचको वार्षिक ६०० अर्ब डलरको व्यापार बन्द अवस्थामा धकेलिएको थियो।
राष्ट्रपति ट्रम्पले पद सम्हालेपछि नेपालसहित विश्वका ६५ मुलुकमा आयात कर बढाउने घोषणा गरेका थिए। सुरुमा चिनियाँ सामानमा २० प्रतिशत हुँदै १४५ प्रतिशतसम्म पुर्याएका थिए।
ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीलाई उच्च ’रेसिप्रोकल’ (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए। ट्रम्पले ६० बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका छन्।
चीन भ्रमणमा जाँदै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै चीन भ्रमणमा जान लागेको बताएका छन्। शुक्रबार ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मेट्र्जसँगको भेटमा ट्रम्पले भने, ‘सी चिनफिङले मलाई चीन आउन आग्रह गरे र मैले उनलाई अमेरिका आउन निम्ता दिएँ। हामी दुवैले यो प्रस्ताव स्वीकार गरेका छौं।’
ट्रम्पले आफू श्रीमतीसँग चीन भ्रमण गर्ने बताए। साथै सी पनि श्रीमतीसँग अमेरिका भ्रमणमा आउने अपेक्षा गरिएको छ।
यद्यपि चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई भ्रमणको निम्तो दिएको कुरा मात्र उल्लेख छ, ट्रम्पले सीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरिएको विषय लेखिएको छैन। चिनियाँ मिडियाका अनुसार ह्वाइटहाउसको आग्रहमा ट्रम्प र सीबीच फोनमा कुराकानी भएको हो।–एजेन्सी