काठमाडौं। ऊर्जा प्रवर्द्धकले तथ्यहीन आरोप लगाएपछि सबैभन्दा बढी नोक्सान उर्जा प्रवर्द्धकलाई भएको ऊर्जा उद्यमीहरूले बताएका छन्। धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई स्वतन्त्र उर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले बिचौलियामार्फत ‘घुस’ मागेको आरोप लगाएपछि जलविद्युतको आइपिओ थप अनिश्चित बनेको हो।
संसदको सार्वजनिक लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको आइपिओ जारी नगर्न निर्देशन दिएपछि केही समय बोर्ड अध्यक्ष श्रेष्ठ लेखा समितिको उक्त निर्देशनले प्रवर्द्धकलाई गम्भीर समस्या पर्ने भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्न गएका थिए।
लेखा समितिको उक्त निर्णय जलविद्युत् क्षेत्र गम्भीर समस्यामा पर्ने र दीर्घकालीन असर गर्ने श्रेष्ठको बुझाइसहित खुलाउन १० पटकभन्दा बढी लेखा समिति उपस्थित भएर कन्भिन्स गराए। त्यसका अलवा उनी प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष समस्या लिएर पुगेका थिए।
लेखा समितिको निर्देशनपछि सेबोनका कर्मचारीले कलम नचलाएपछि त्यसलाई फुकुवा गरिदिन भन्दै समितिको ढोका हुँदै प्रधानमन्त्रीसमक्ष श्रेष्ठ पुगेका थिए। त्यही बेला इप्पान अध्यक्ष कार्कीले घुस मागेको तथ्यहीन आरोप लगाएपछि लेखा समितिको अव्यवहारिक निर्णय सच्याउन कतै दौडधूप गरेका छैनन्।
मैले लेखा समितिको निर्णय सच्याइ पाउँ भन्दै जाने जति ठाउँमा गइसकेँ। तपाईलाई सहजीकरण गर्न खोज्दा घुस आरोप खेप्न पर्यो।
‘आइपिओ इस्यू गरिदिन आग्रह गर्दै सेबोन पुग्नेलाई अध्यक्ष श्रेष्ठले लेखा समितिमार्फत क्लियरेन्स लिएर आउनुस्, म स्वीकृतिका लागि फाइल अघि बढाइदिन्छु भन्दै जवाफ दिँदै फर्काउने गरेका छन्,’ एक प्रवर्द्धकले भने, ‘मैले रोकेको होइन्। कि ९० नेटवर्थ पुर्याएर आउनुस्, नभए लेखा समितिको निर्देशन सच्याउन भन्नुस्। अन्यथा बोर्डले आइपिओ इस्यू गर्दैनन्।’
‘मैले लेखा समितिको निर्णय सच्याइ पाउँ भन्दै जाने जति ठाउँमा गइसकेँ। तपाईलाई सहजीकरण गर्न खोज्दा घुस आरोप खेप्न पर्यो,’ ती प्रवर्द्धकसँग श्रेष्ठले भने, ‘अब म सहजीकरण गरिदिनुस् भन्दै जाँदा घुस खान लाग्यो भन्ने आरोप लाग्छ। तपाईहरू नै यसमा काम गर्नुस्।’
लेखा समितिले दिएको निर्देशक आफूले अक्षरस पालना गर्ने बताए। ‘म र मेरा कर्मचारीले लेखा समितिविरुद्ध गएर कुनै निर्णय गर्दैनौँ,’ उनले भने, ‘९० नेटवर्थभन्दा माथि हुनेलाई रोक्दिनँ। रोकेको पनि छैन। फेरि मेरो सक्रियाता बढ्ने वित्तिकै कमिसन सुरु भयो भन्ने आरोप खेप्नुपर्ने हुन्छ। तपाईहरु किन लेखा समितिमा जानु हुन्न? किन सभापति ज्यूलाई भेट्नुहुन्न? मलाई भेटेर केही हुन्न। सभापति ज्यूलाई भेटेर बुझाउनुस्,’ श्रेष्ठले ती प्रवर्द्धकसामू भने।
प्रवर्द्धकहरू अहिलेसम्म लेखा समिति सभापति ऋषिकेश पोखरेलसामू गएका छैनन्। उनीहरू प्रधानमन्त्रीसमक्ष पुगे। अर्थमन्त्रीसमक्ष पुगिसके। तर, लेखा समिति सभापतिसमक्ष नपुग्नुले प्रवर्द्धकको बदमासी भएको हुनसक्ने आशंका बोर्डले गरेको छ।