काठमाडौं। नेपाली राइड-सेयरिङ बजार अब केवल यात्रु र चालक तान्ने व्यवसायिक प्रतिस्पर्धामा सीमित नहुने संकेत देखिएको छ। नेपालमा उबरको प्रवेशसँगै राइड-सेयरिङ क्षेत्रमा नयाँ शक्ति समीकरण बन्ने देखिएको हो।
अर्बौं डलरको लगानी क्षमता, अत्याधुनिक प्रविधि र आक्रामक बजार विस्तार रणनीति बोकेका उबर र याङ्गोबीचको प्रतिस्पर्धा केवल व्यवसायिक नभई भू-राजनीतिक प्रभावसँग समेत जोडिएको रूपमा हेरिन थालेको छ। अहिले नेपालमा सबैभन्दा ठूलो सञ्जाल रहेको राइड सेयरिङ कम्पनीको रूपमा रहेको पठाओ र याङ्गोबीच मर्जरका लागि सम्पत्ति मूल्यांकन (डिडिए)को प्रक्रियासमेत अघि बढिसकेको छ।
विश्वस्त स्रोतका अनुसार याङ्गोले नै पठाओलाई लिने र याङ्गोको नाममा मात्र सञ्चालन हुने छ। यो भनेको जव अमेरिकन कम्पनी उबरको प्रवेश नेपालमा भयो, तब दुई ठूला राइड सेयरिङ कम्पनीबीच मर्जर गएर अगाडि बढ्ने तरखर गर्नु भू-राजनीतिक प्रतिस्पर्धाको रूपमा हेरिन थालेको बताइन्छ।
केही समयअघिसम्म पठाओ, इनड्राइभ र याङ्गोबीच सीमित रहेको प्रतिस्पर्धा अब विश्वस्तरका दुई ठूला कम्पनीको प्रत्यक्ष भिडन्तमा रूपान्तरण हुँदै गएको विश्लेषण गरिएको छ।
व्यवसायीकतासँगै भू-राजनीतिक प्रतिस्पर्धा
उबर विश्वकै सबैभन्दा ठूलो राइड सेयरिङ कम्पनीमध्ये एक हो भने याङ्गो रुसी प्रविधि कम्पनी यान्डेक्सको सहायक ब्रान्ड हो। दुवै कम्पनीसँग अर्बौं डलर बराबरको लगानी क्षमता रहेको छ। जसका कारण नयाँ बजारमा प्रवेश गर्दा उनीहरूले ठूलो मात्रामा प्रोत्साहन योजना, छुट तथा प्रविधिमा लगानी गर्न सक्ने क्षमता राख्छन्।
यो ‘शक्ति प्रदर्शनले’ले गर्दा कालान्तरमा इनड्राइभ र पठाओ जस्ता कम्पनीहरू हराउन सक्छन्। बजारमा यी दुई ठूला विदेशी कम्पनीहरू मात्र बाँकी रहन सक्ने अनुमान गरिएको छ।
उबरले विभिन्न देशमा ‘डायनामिक प्राइसिङ’, डिजिटल पेमेन्ट, अफर तथा ग्राहक केन्द्रित सेवामार्फत बजार विस्तार गर्दै आएको छ।
अहिले प्रतिस्पर्धामा रहेका दुवै कम्पनीसँग पर्याप्त आर्थिक स्रोत, प्रविधि तथा अन्तर्राष्ट्रिय अनुभव भएकाले उनीहरू लामो समयसम्म प्रतिस्पर्धा गर्ने क्षमता राख्छन्। यसले बजारलाई थप व्यवस्थित र सेवामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतिस्पर्धाको प्रत्यक्ष लाभ भने यात्रु र चालकहरूले प्राप्त गर्न सक्ने छन्।
यात्रुले थप विकल्प, सहज सेवा र प्रतिस्पर्धात्मक मूल्य पाउने सम्भावना छ भने चालकहरूले पनि विभिन्न कम्पनीबाट आउने प्रोत्साहन योजनाको लाभ लिन सक्नेछन्। अर्कोतर्फ, कम्पनीहरूबीचको मूल्य तथा सेवागत प्रतिस्पर्धाले समग्र राइड सेयरिङ क्षेत्रको गुणस्तर सुधारमा योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
राइड-सेयरिङमा ‘जियो-लिटिक्स’ (भू-राजनीति)
नेपालको राइड-सेयरिङ बजार अब अमेरिकी कम्पनी (उबर) र रसियन कम्पनी (याङ्गो)बीचको प्रतिस्पर्धाको मैदान बन्ने देखिन्छ। यी दुवै कम्पनीहरूसँग प्रचुर पैसा भएकाले उनीहरूले यहाँ बजार विस्तारमा व्यापक खर्च गर्ने सम्भावना छ। यो ‘शक्ति प्रदर्शनले’ले गर्दा कालान्तरमा इनड्राइभ र पठाओ जस्ता कम्पनीहरू हराउन सक्छन्। बजारमा यी दुई ठूला विदेशी कम्पनीहरू मात्र बाँकी रहन सक्ने अनुमान गरिएको छ।
विशेषगरी याङ्गो र उबर दुवै अन्तर्राष्ट्रिय स्तरका कम्पनी भएकाले उनीहरूसँग पर्याप्त पूँजी र दीर्घकालीन लगानी गर्ने क्षमता छ। बजार विस्तार, ग्राहक आकर्षण, चालक प्रोत्साहन तथा सेवा प्रवर्द्धनका लागि यी कम्पनीहरूले ठूलो मात्रामा खर्च गर्न सक्ने देखिन्छ। यसले हाल सञ्चालनमा रहेका साना तथा मध्यम प्लेटफर्महरूलाई प्रतिस्पर्धामा टिक्न झन् कठिन बनाउने सम्भावना छ। परिणामस्वरूप भविष्यमा बजार केही ठूला कम्पनीहरूमा सीमित हुन सक्ने देखिएको छ।
नेपालमा राइड सेयरिङ सेवाको सुरुवात २०७३ सालमा भएको हो। त्यसयता करिब ६० देखि ७० वटा राइड सेयरिङ एप सञ्चालनमा आए पनि अधिकांश बजारमा टिक्न सकेनन् र बन्द भए। यद्यपि, राइड सेयरिङ सेवालाई व्यापक रूपमा स्थापित गर्ने श्रेय भने पठाओलाई जान्छ। पठाओले बजार विस्तार, ब्रान्ड निर्माण र प्रयोगकर्ता वृद्धि गर्न ठूलो लगानी गरेकाले नेपाली उपभोक्तामाझ राइड सेयरिङलाई लोकप्रिय बनाउन सफल भयो।
यात्रुलाई सस्तोमा सेवा दिने र चालकलाई उल्टै बोनश दिने भएकाले पनि छोटो समयमा लोकप्रियता हासिल गरेको हो।
विगतमा पठाओको आक्रामक विस्तारका कारण धेरै प्रतिस्पर्धी कम्पनीहरू बजारबाट बाहिरिएजस्तै, आगामी दिनमा याङ्गो र उबरबीच पनि यस्तै प्रतिस्पर्धा देखिन सक्ने अनुमान गरिएको छ। पर्याप्त पूँजी, अन्तर्राष्ट्रिय अनुभव र विस्तार रणनीतिका कारण नेपाली राइड सेयरिङ बजारको केन्द्रमा अब मुख्य रूपमा यांगो र उबरबीचको प्रतिस्पर्धा रहने सम्भावना बलियो देखिएको छ।
२०७५ सालबाट नेपालमा सेवा सुचारु गरेको पठाओ बाइक र कारको राइड सेयरीङसँगै पछिल्लो समय फुड डेलिभरी र पार्सल सेवामा लोकप्रिय रहेको छ। उसले अहिले काठमाडौंसहित उपत्यका बाहिरका ठूला सहरमा सेवा दिँदै आएको छ।
यस्तै २०२५ बाट नेपालमा आफ्नो यात्रा सुरु गरेको याङ्गो पछिल्लो समय उपभोक्ता र चालकबीच लोकप्रिय बनेको छ। यात्रुलाई सस्तोमा सेवा दिने र चालकलाई उल्टै बोनश दिने भएकाले पनि छोटो समयमा लोकप्रियता हासिल गरेको हो। नेपालमा इनड्राइभले औपचारिक रूपमा राइड सेयरिङ सेवा २०८१ वैशाख २४ गतेदेखि सुरु गरेको हो।