काठमाडौं। बैंक तथा वित्तीय संस्थाभित्र बेथिति मौलाउँदै गएको नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणमा भेटिएको छ। राष्ट्र बैंकले दिएको नीति निर्देशनको ‘लुप होल’ खोजेर एउटै ऋणी चार थरीको शीर्षकमा कर्जा प्रवाह गरेको स्थलगत सुपरिवेक्षणमा गएका निरीक्षक टोलीले भेटेका हुन्।
राष्ट्र बैंकको वाणिज्य बैंक सुपरवेक्षणले चालु वर्षको नियमित स्थलगत निरीक्षण गरिरहेको छ। हालसम्म १६ वटा वाणिज्य बैंकको स्थलगत निरीक्षण पूरा भइसकेको छ। बाँकी चार वटा बैंकमा हाल निरीक्षण टोलीले आफ्नो काम गरिहेका छन्।
चौथो त्रैमासमा चार वटा वाणिज्य बैंकका राष्ट्र बैंकको स्थलगत निरीक्षण टोली खटिएका हुन्। जसमा हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल बैंक रहेका छन्। यी बैंकमा राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षण भइरहेको स्रोतले जानकारी दिएको छ।
बाँकी १६ वटा वाणिज्य बैंक पहिलो दोस्रो र त्रेस्रो त्रैमासमै स्थलगत निरीक्षण सकिएको छ। प्रारम्भिक प्रतिवेदनका आधारमा फाइनल रिपोर्ट तयार पारिने चरणमा छ। पहिलो, दोस्रो र तेस्रो त्रैमासको रिपोर्ट प्रक्रिया सम्पन्न भइसकेको छ। चौथो त्रैमासका लागि फिल्ड निरीक्षण जारी छ।
पहिलो त्रैमासका फाइलमा बोर्डमा पुगिसकेका छन्। दोस्रो र तेस्रो त्रैमासको निरीक्षण प्रतिवेदनमा फिल्डमा जाने निरीक्षकले हेरेर काम गरिहेका छन्। हालसम्म सम्पन्न भएका स्थलगत निरीक्षणको क्रममा बैंकहरूको कर्जा गुणस्तर खस्किँदै गएको मुख्य समस्या भेटिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
चालु पुँजी कर्जा मार्गदर्शनले दिएको सीमाभन्दा बढी र ऋणीको आवश्यकताभन्दा बढी कर्जा बैंकहरूले दिँदा मुख्य समस्या खस्कँदो कर्जाको गुणस्तर रहेको स्रोतको भनाइ छ।
‘सुपरिवेक्षण विभागले हेर्ने भनेको मुख्य कर्जा जोखिम हुन्। अहिले चालु पुँजी कर्जाको कमजोर कार्यान्वयन (लुज इप्लिमेटेसन) पाइएको छ,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘वर्किङ क्यापिटलको क्षमता छैन। तर, कर्जा गइरहेको छ, वर्किङ क्यापिटलका लागि क्षमता कम हुँदा पनि अर्को शीर्षक बनाएर एउटै व्यक्तिलाई सट टर्म लोन, ब्रिज ग्याप लोन, एसटिएल, डिमाण्ड लोन, क्यास क्रेडिटलगायत सट टर्म लोन त्यही व्यक्तिलाई बैंकले दिएका छन्।’
चालु पुँजी कर्जा मार्गदर्शनले दिएको सीमाभन्दा बढी र ऋणीको आवश्यकताभन्दा बढी कर्जा बैंकहरूले दिँदा मुख्य समस्या खस्कँदो कर्जाको गुणस्तर रहेको स्रोतको भनाइ छ। यस्तै, चालु वर्षमा बैंकमा संस्थागत सुशासनमा पनि समस्या देखिएको स्रोतको भनाइ छ।
‘चालु वर्षमा बैंकहरूमा गभरनेन्सको ठूलो समस्या भने देखिएको छैन तर, स-साना गभरनेन्सका समस्याहरू छन्। सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो जिम्मेवारीको केही गलत फाइदा उठाएको पाइएको छ। संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)मा खर्च गर्नुपर्ने खुद नाफाको एक प्रतिशत रकम आफ्नो संस्थाको ब्राण्डिङमा खर्च गर्ने, विज्ञापनको खर्चमा पारदर्शीता कम देखिएको छ,’ उनले भने।
सिएसआरको पैसा खर्च गर्दा परियोजना तथा प्रोजेक्ट राम्रोसँग नहेरी खर्च गर्ने, आफ्नो संस्थालाई फाइदा हुने ठाउँमा मात्रै खर्च गरेको लगायत अहिले देखिएका समस्याहरू छन्। राष्ट्र बैंकले दिएको निर्देशनको ‘लुप होल’ पत्ता लगाएर काम गर्ने बैंकहरू धेरै हुँदा समस्या भएको हो। राष्ट्र बैंकको हाल कार्यान्वयनमा रहेको नीति निर्देशनमा व्यापक परिवर्तन नगरेसम्म बैंकहरूले लुप होल खोजेर कारोबार गर्ने प्रवृत्ति नरोकिने उनको भनाइ छ।
‘निर्देशनमा हुन्छ, सुपरभाइजरले होइन भन्ने ठाउँ पनि हुँदैन, हाम्रो नीति निर्देशनमा नै धेरै परिवर्तन गर्नुपर्ने छ। राष्ट्र बैंकले गलत गरोस् भन्ने आशयले गरेको होइन। तर, बैंकहरूले लुप होल खोजेर दोस्रो बाटो अपनाउने गर्दा क्रेडिट रिक्स असाध्यै बढेर गएको छ,’ उनले भने।
राष्ट्र बैंकबाट जाने निरीक्षण टोली सम्बन्धित बैंकहरूको उच्च व्यवस्थापन र अन्य व्यवस्थापकीय क्षेत्रहरू जस्तै- अन्तरनिहीत जोखिम तथा जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, कर्जा व्यवस्थापन, निक्षेप व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलगायत क्षेत्रहरू समेटिने गरी समष्टिगत स्थलगत निरीक्षण कार्य गर्छन्।
पछिल्लो समय निरीक्षणलाई अलि विस्तृत बनाइएको हुँदा पहिले राष्ट्र बैंकले माफ दिएको विषयमा पनि अहिले बैंकहरू कारवाहीमा परेको स्रोत बताउँछ।
साथै, बैंक वा वित्तीय संस्थाको समग्र जोखिम विवरण (रिक्स प्रोफाइल)को आधारमा उच्च जोखिम देखिएका क्षेत्रहरू, गैरस्थलगत सुपरीवेक्षण इकाई, प्रतिवेदन कार्यान्वयन इकाईबाट पहिचान भएका विषयहरू वा विभागले मनासिव ठानेका कुनै विशेष क्षेत्र वा कारोबारका लागि विभागले लक्षित निरीक्षण गर्छ।
पछिल्लो समय निरीक्षणलाई अलि विस्तृत बनाइएको हुँदा पहिले राष्ट्र बैंकले माफ दिएको विषयमा पनि अहिले बैंकहरू कारवाहीमा परेको स्रोत बताउँछ।
‘बैंकहरूको कर्जा प्रवाहमा देखिएका समस्या भने नयाँ नभएर पुरानै हो। व्यवहारिक रुपमा साधारण देखिएका कैफियतहरू पनि दिएको निर्देशन विपरीत भएको रहेछ भने नियम संगत हुनु पर्छ भनिएको छ,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशनअनुसार कर्जामा प्रयाप्त प्रोभिजन नगर्ने, बैंकको ब्याज दरसम्बन्धी निर्देशन पालनामा पनि कमीकमजोरी छन्।’
राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थामा स्थलगतसँगै गैर-स्थलगत निरीक्षण, लक्षित निरीक्षण, विशेष निरीक्षण र अनुगमन निरीक्षण गर्छ। समष्टिगत, स्थलगत र लक्षित निरीक्षण वार्षिक कार्य योजनाअनुसार गरिन्छ भने गैरस्थलगत र विशेष निरीक्षण बैंक वा वित्तीय संस्थाबाट प्राप्त सूचना, जानकारी एवं विवरणको आधारमा वा सरोकारवाल पक्ष तथा ग्राहकको गुनासोको आधारमा हुन्छ।
बोर्डले हेर्ने विषयमा टिप्पणी आएपछि विभागले पुनः प्रष्टिकरण सम्बन्धित बैंकलाई सोधेर आएको रिप्लाइअनुसार मात्रै फाइनल प्रतिवेदन बन्छ।
स्थलगत निरीक्षण सकिनेबित्तिकै देखिएको कैफियतमा फिल्डमै निरीक्षण टोलीले कैफियतमा सोधेको प्रश्नको प्रिलिमनरी रेस्पोन्स आउनुपर्ने हुन्छ। त्यसपछि सम्बन्धित डेक्सले हेरेर विभाग प्रमुखसँग छलफल गरेर मात्रै उच्च व्यवस्थापन समिति र बोर्डमा फाइल पठाइन्छ।
बोर्डले हेर्ने विषयमा टिप्पणी आएपछि विभागले पुनः प्रष्टिकरण सम्बन्धित बैंकलाई सोधेर आएको रिप्लाइअनुसार मात्रै फाइनल प्रतिवेदन बन्छ।